डडेल्धुराको भित्री मधेसस्थित परशुराम नगरपालिकाले आफ्नो १२ औँ स्थापना दिवस फरक शैलीमा मनाएको छ।
विगत भन्दा यस पटक फरक शैलीमा स्थापना दिवस मनाइएको हो।
परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले यस पटक स्थापना दिवस विगतको जस्तो भाषण र औपचारिक तामझाममा मात्र सीमित नरहेको बताए।
उनले नगरपालिकाले त्यहाँ प्रसिद्ध धार्मीक स्थल परशराम धाममा महाकाली नदी किनारमा कार्यपालिका बैठक सम्पन्नदेखि पवित्र तीर्थस्थलको सरसफाई र प्रतिभा सम्मान गरेर स्थापना दिवस मनाएको जानकारी दिए।
स्थापना दिवसकै अवसर पारेर नगरपालिकाले स्कन्ध पुराणमा वर्णित महाकाली नदी किनारस्थित ऐतिहासिक एवं धार्मिक ‘परशुरामधाम’ क्षेत्रमा वृहत सरसफाई तथा रङरोगन गरेको हो। सरसफाई अभियानमा नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय (सेना, प्रहरी, सशस्त्र), सञ्चारकर्मी र स्थानीयको उत्साहजनक सहभागिता थियो।
सोही अवसरमा नगरपालिकाले आफ्नो कार्यपालिका बैठकसमेत महाकाली किनारमै (परशुरामधाम परिसरमा) आयोजना गर्यो। धामको पवित्रता र पर्यटकीय महत्त्वलाई उजागर गर्ने उद्देश्यले खुला आकाशमुनि नदी किनारमै बैठक राखिएको मेयर जोशीले बताए।
नदी किनारमा बसेको कार्यपालिका बैठकको निर्णय अनुसार, नगरले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरूलाई नगद राशीसहित सम्मान गरेको छ।
सम्मान कार्यक्रम अन्तर्गत नेपाल सरकारका उपसचिवद्धय वीरबहादुर धामी र ई. दीपक नेगीलाई ‘परशुराम आइकन अवार्ड–२०८२’ बाट विभूषित गरिएको छ। यस्तै, नगरपालिकाले समाजमा विशिष्ट योगदान पु¥याएको भन्दै स्थानीय राजेश जोशी र ८८आकृति पाण्डेयलाई जनही ५० हजार रुपैयाँ राशीसहित ‘परशुराम अचिभर्स अवार्ड’ प्रदान गरेको हो।
यस्तै नगरपालिकाले उत्पादन र खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै उत्कृष्ट नतिजा ल्याउनेहरूलाई जनही ५१ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ। जसमा खेलकुदतर्फ बक्सिङका सुरेश चुनारा र योगाकी पुष्पा नाथ सम्मानित भए भने कृषितर्फ नरेन्द्र नेगी र पशुपालनमा उत्कृष्ट काम गर्ने मिलन घिमिरेले अवार्ड प्राप्त गरे।
शैक्षिक गुणस्तर सुधारमा प्रोत्साहन स्वरूप नगरपालिकाले उत्कृष्ट विद्यार्थीहरूलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको छ। सम्मानित हुने विद्यार्थीहरूमा कक्षा ८ बाट मोहन थापामगर, आयुस भट्ट र प्रतिभा भट्ट, कक्षा १० बाट किशोर गिरी र रितिका पनेरु तथा कक्षा १२ बाट दीपेन्द्र बोहरा र खगन्ति बोहरा रहेका छन्।
यसैगरी, विकास निर्माणमा गुणस्तरीय काम गरेको भन्दै ‘सिगास निर्माण सेवा’लाई उत्कृष्ट निर्माण व्यवसायीको सम्मान प्रदान गरिएको छ भने कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका कर्मचारीहरूलाई समेत सो अवसरमा पुरस्कृत गरियो।
धार्मिक पर्यटनको प्रवद्र्धन, वातावरण संरक्षण र स्थानीय प्रतिभाको कदर गर्दै मनाइएको यस वर्षको स्थापना दिवसले सकारात्मक सन्देश प्रवाह गरेको मेयर जोशीको भनाई छ।
१२ वर्षअघि तत्कालीन जोगबुढा र शीर्ष गाविस गाभिएर मंसिर १६ गते घोषणा भएको परशुराम नगरपालिका, भूगोल र जनसंख्या दुवै हिसाबले डडेल्धुराको सबैभन्दा ठूलो स्थानीय तह हो।

