यमराज जोशी-
गाउँमा देउसी–भैलो खेल्ने मान्छे भेटिन छाडेका छन्। भएकाहरू पनि देउसी–भैलो खेल्न त्यति इच्छुक देखिँदैनन्। कोही रोजगारीका लागि विदेशिएका छन्, कोही सहर पसेका छन्। गाउँमै रहेका युवापुस्ता पनि सामाजिक सञ्जाल, फेसबुक, टिकटकजस्ता डिजिटल माध्यममा बढी रमाउन थालेका छन्।
यसले एउटा गम्भीर प्रश्न जन्माएको छ–कतै तिहारसँगै हाम्रा अन्य मौलिक पर्व, संस्कार र परम्परा पनि विस्तारै हराउँदै त जाने होइनन्रु
चिन्ता हामी आफैँ गरिरहेका छौँ। तर चिन्ता गर्नुबाहेक त्यसलाई जोगाउन हामीले कति पहल गरिरहेका छौँ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। किनकि समय परिवर्तनशील छ। मानिसको जीवनशैली बदलिँदै जानु स्वाभाविक हो। त्यसैले परम्परालाई जस्ताको तस्तै थामेर राख्नेभन्दा त्यसको मूल मर्म जोगाउँदै समयअनुसार नयाँ पुस्तासँग जोड्न सक्नु आजको आवश्यकता हो।
प्रकृतिले मानिसलाई जीवन धान्न आवश्यक थुप्रै वस्तु दिएको छ–जल, जंगल, माटो, हावा, पानी, वनस्पति लगायत। मानिसले यिनै प्राकृतिक स्रोतको उपयोग गर्दै आफ्ना आवश्यकता पूरा गर्दै आएको छ। यही क्रममा मानिसले आफ्नो सामाजिक जीवनलाई व्यवस्थित गर्न विभिन्न संस्कार, संस्कृति, पर्व र परम्पराको विकास गर्यो।
हाम्रा पूर्वजहरू कति दूरदर्शी थिए भन्ने कुरा हाम्रा पर्व–परम्परालाई हेर्दा पनि बुझ्न सकिन्छ।
उनीहरूले समाजमा असल काम गर्ने, अरूको भलो गर्ने र सत्यको पक्षमा उभिने व्यक्तिलाई भगवानको प्रतीकका रूपमा व्याख्या गरे। समाजमा खराब काम गर्ने, अरूलाई दुःख दिने र गलत बाटोमा हिँड्ने प्रवृत्तिलाई राक्षसको प्रतीकका रूपमा बुझाए। त्यसरी भगवान र राक्षसका प्रतीकमार्फत असल र खराबबीचको भिन्नता बुझाउने सामाजिक शिक्षा पुस्तौँदेखि हस्तान्तरण हुँदै आयो।
त्यही असल र खराब, सत्य र असत्य, प्रेम र घृणा, सहयोग र असहयोगबीचको सम्बन्धलाई विभिन्न पर्व–उत्सवमार्फत मानिसको जीवनसँग जोडियो।
तीजलाई हेर्ने हो भने पति–पत्नीबीचको प्रेम, सम्मान र दीर्घायुको कामनासँग यसको सम्बन्ध जोडिएको पाइन्छ। दशैँमा परिवार र आफन्तबीच भेटघाट गर्ने, निधारमा टीका र शीरमा जमरा लगाउने तथा ठूलाबाट आशीर्वाद लिने–दिने परम्परा छ।
तिहारमा दिदी–भाइबीचको प्रेम र सम्मानलाई महत्व दिइन्छ। मानिसको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने जनावर तथा चराचुरुङ्गीप्रति पनि सम्मान व्यक्त गरिन्छ। काग तिहार, कुकुर तिहार, गाई तिहार र गोरु पूजाले मानिस र प्रकृतिबीचको सम्बन्ध सम्झाउँछन्।
माघीमा विशेषगरी विवाहित छोरीचेलीलाई सम्झिने, आफन्तबीच भेटघाट गर्ने र सामाजिक सम्बन्धलाई बलियो बनाउने परम्परा पाइन्छ। त्यसैगरी हामीबीच नरहेका पूर्वजलाई पितृका रूपमा सम्झिने, सम्मान गर्ने र श्राद्ध तथा विभिन्न संस्कार गर्ने परम्परा पनि छ।
अर्थात् हाम्रा पर्व केवल रमाइलो गर्ने दिन मात्र होइनन्। तिनको पछाडि सामाजिक सम्बन्ध, पारिवारिक एकता, प्रकृतिप्रतिको सम्मान, पूर्वजप्रतिको सम्झना, असल कर्मप्रतिको सम्मान र सामाजिक उत्तरदायित्वका गहिरा अर्थ छन्।
यी पर्वले सामाजिक सम्बन्ध मात्र जोडेनन्, अर्थतन्त्रलाई पनि चलायमान बनाए।
पर्व आउँदा फूल चाहिन्छ, फलफूल चाहिन्छ, मिठाइ चाहिन्छ, कपडा चाहिन्छ, पूजा सामग्री चाहिन्छ। कसैले उत्पादन गर्छ, कसैले बेच्दछ र कसैले खरिद गर्छ। यसरी एउटा परिवारको आम्दानी अर्को परिवारको खर्चसँग जोडिन्छ। एउटा व्यक्तिको आवश्यकता अर्को व्यक्तिको रोजगारीको आधार बन्छ।
तिहारमा बजारमा देखिने झिलिमिली बत्तीलाई नै हेरौँ। कुनै एउटा घरमा बलेको झिलिमिली बत्तीले अर्को घरको चुलो बाल्ने आधार दिएको हुन सक्छ। बजारमा बिक्री हुने फूलले फूल किसानको आम्दानी बढाएको हुन सक्छ। माटोका दियो बेच्ने व्यक्तिले त्यही पर्वको अवसरमा दुई–चार सय रुपैयाँ कमाउन पाएको हुन सक्छ।
मिठाइ पसलमा देखिने मिठाइसँगै त्यसका लागि आवश्यक दूध, चिनी, घिउ, मैदा, तेललगायत कच्चा पदार्थको कारोबार पनि जोडिएको हुन्छ। अर्थात् एउटा पर्वको प्रभाव एउटा पसलमा मात्र सीमित हुँदैन। त्यसले उत्पादनदेखि बजारसम्मको लामो आर्थिक शृंखला चलायमान बनाउँछ।
सायद हाम्रा पूर्वजले पर्व र संस्कार विकास गर्दा यसको आर्थिक पक्षबारे आजको अर्थशास्त्रीय भाषामा सोचेका थिएनन् होला। तर उनीहरूले मानिसलाई निश्चित समयमा निश्चित वस्तुको आवश्यकता पर्ने सामाजिक वातावरण निर्माण गरिदिए। त्यसले उत्पादन, सीप, व्यापार र आदानप्रदानको संस्कारलाई निरन्तरता दियो।
मानिसले एकअर्काका लागि आवश्यक सामग्री बनाउन थाले। आफ्नो सीप प्रयोग गरेर वस्तु उत्पादन गर्न थाले। वस्तुको खरिद–बिक्री र साटासाट हुन थाल्यो। यसले रोजगारी मात्र सिर्जना गरेन, मानिसबीचको सम्बन्ध पनि विकास गर्यो।
समयसँगै ती परम्पराहरू परिवर्तन हुँदै गए। कतिपय पुराना स्वरूप हराए, कतिपय नयाँ स्वरूपमा आए। माटोका दियोको ठाउँमा प्लास्टिक वा अन्य सामग्रीका दियो आउन सक्छन्। प्राकृतिक फूलका मालाको ठाउँमा कृत्रिम फूल प्रयोग हुन सक्छन्। देउसी–भैलो खेल्ने तरिका बदलिन सक्छ। गाउँको चौतारोमा हुने मनोरञ्जन सामाजिक सञ्जालको डिजिटल संसारमा पुग्न सक्छ।
तर यसको अर्थ परम्परा नै सकियो भन्ने होइन।
परम्परा जोगाउनु भनेको पुरानो स्वरूपलाई जस्ताको तस्तै दोहोर्याउनु मात्र होइन। त्यसको मूल मर्मलाई जोगाएर समयअनुसार नयाँ स्वरूप दिनु पनि परम्पराको संरक्षण हो।
आज प्रविधिले संसारलाई निकै अगाडि पुर्याइसकेको छ। मानिसको जीवनका धेरै काम प्रविधिले सहज बनाएको छ। कृत्रिम बुद्धिमत्ता, जैविक प्रविधि, रोबोटिक्सलगायतका क्षेत्रमा विश्व तीव्र गतिमा अघि बढिरहेको छ। कतिपय क्षेत्रमा मानिसले कल्पना गर्न नसकेका प्रविधि विकास भइरहेका छन्।
यस्तो समयमा हामी प्रविधिबाट टाढा रहेर मात्र आफ्नो परम्परा जोगाउन सक्दैनौँ।
हामी आत्मनिर्भर छैनौँ। हाम्रा धेरै आवश्यकता पूरा गर्न विकसित देशसँग सम्बन्ध राख्नुपर्छ। उनीहरूबाट प्रविधि सिक्नुपर्छ, प्रयोग गर्नुपर्छ र कतिपय अवस्थामा उनीहरूसँग प्रतिस्पर्धा पनि गर्नुपर्छ।
त्यसैले हाम्रो पुस्ताले परम्परा र प्रविधिबीच द्वन्द्व खोज्नु आवश्यक छैन। बरु दुवैलाई सँगसँगै अघि बढाउनुपर्छ।
आजको युवाले देउसी–भैलो गाउँमा मात्र होइन, डिजिटल प्लेटफर्ममा पनि पुर्याउन सक्छ। स्थानीय मौलिक गीत, नृत्य, पोसाक र संस्कृतिलाई भिडियो बनाएर विश्वभर पुर्याउन सक्छ। सामाजिक सञ्जाललाई परम्परा नष्ट गर्ने माध्यमका रूपमा मात्र हेर्नुभन्दा आफ्नो संस्कृति विश्वसामु चिनाउने माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ।
हाम्रो मुख्य उद्देश्य भने पर्वको बाहिरी स्वरूपभन्दा त्यसको मूल मर्मलाई जोगाउनु हो।
हरेक पर्वको भित्री सन्देश कुनै न कुनै रूपमा असत्यमाथि सत्यको विजय, बेइमानीमाथि इमानदारीको विजय, घृणामाथि प्रेमको विजय, स्वार्थमाथि सहयोगको भावना र विभाजनमाथि सामाजिक एकताको विकाससँग जोडिएको छ।
असल काम गर्ने मानिसलाई सम्मान गर्ने संस्कार त्यही कारण महत्वपूर्ण छ।
आज पनि हामीले धेरै जीवित मानिसलाई ‘भगवान’ भनेर सम्मान गर्छौँ। उदाहरणका रूपमा डा। सन्दुक रुइतजस्ता व्यक्तित्वलाई लिन सकिन्छ, जसले आफ्नो ज्ञान, सीप र सेवामार्फत हजारौँ मानिसको जीवनमा उज्यालो ल्याएका छन्। भगवानको अर्थ केवल मूर्तिमा खोज्ने होइन, समाजका लागि असल काम गर्ने मानिसको कर्ममा पनि खोज्न सकिन्छ।
त्यसैले पर्वको मूल सन्देशलाई आजको समाजसँग जोड्न सक्नुपर्छ।
हाम्रा समुदायगत पहिचान पनि यसैगरी जोगाउन आवश्यक छ। थारु समुदायको सखिया, लेहेंगा, फरिया, लुङ्गीजस्ता मौलिक पहिचान हुन्। मगर, नेवार, राईलगायत समुदायका आफ्नै भाषा, पोसाक, नाचगान र संस्कार छन्। पहाडी समुदायका हुड्के नाच, छलिया जस्ता सांस्कृतिक अभ्यास छन्। नेपाली समाजको साझा पहिचानसँग जोडिएका दौरा–सुरुवाल, ढाका टोपी, गुन्यु–चोली, पटुकीजस्ता पोसाक पनि छन्।
यी पहिचानलाई संग्रहालयमा राखेर मात्र जोगाउन सकिँदैन। दैनिक जीवन, शिक्षा, कला, पर्यटन, सञ्चार र आधुनिक प्रविधिसँग जोडेर जीवित राख्नुपर्छ।
हामीले हाम्रा परम्परालाई समयअनुसार परिष्कृत गर्नुपर्छ। अझ अगाडि बढेर तिनलाई विश्वसामु चिनाउनुपर्छ।
हाम्रो संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बन्न सक्छ। देउसी–भैलो, सखिया, छलिया, लाखे, विभिन्न जातजातिका मौलिक नाच, पर्व र परम्परालाई व्यवस्थित ढंगले प्रस्तुत गर्न सकियो भने संस्कृति संरक्षणसँगै रोजगारी र आयको माध्यम पनि बन्न सक्छ।
परम्परालाई व्यवसायीकरण गर्दा यसको आत्मा नष्ट हुनु हुँदैन। बरु मौलिकता जोगाउँदै त्यसलाई नयाँ पुस्ताको रोजाइ र विश्वको बदलिँदो बजारसँग जोड्न सक्नुपर्छ।
गाउँमा देउसी–भैलो खेल्ने मान्छे कम भए भनेर मात्र दुःखी हुने होइन। अब किन युवाले देउसी–भैलो खेल्न छाडे भनेर बुझ्नुपर्छ। उनीहरूलाई दोष दिनेभन्दा उनीहरूलाई मन पर्ने माध्यमबाट देउसी–भैलो र आफ्नो संस्कृति उनीहरूसम्म पुर्याउनुपर्छ।
आजको पुस्ता टिकटकमा छ भने संस्कृति टिकटकमा पनि पुग्नुपर्छ। फेसबुकमा छ भने फेसबुकमा पुग्नुपर्छ। युट्युबमा छ भने युट्युबमा पुग्नुपर्छ।
तर माध्यम बदलिँदा मर्म बदलिनु हुँदैन।
हामीले हाम्रा पूर्वजबाट पाएको सबैभन्दा ठूलो सम्पत्ति केवल पर्व र संस्कार होइन, समयअनुसार समाजलाई अघि बढाउने उनीहरूको सोच हो। उनीहरूले आफ्नो समयअनुसार परम्परा निर्माण गरे। अब हाम्रो जिम्मेवारी आफ्नो समयअनुसार त्यसलाई नयाँ पुस्तासम्म पुर्याउनु हो।
त्यसैले तिहारमा देउसी–भैलो खेल्ने मानिस घटे भनेर मात्र चिन्ता नगरौँ। बरु देउसी–भैलोको गीतमा रहेको सामूहिकता, आपसी सद्भाव र सहयोगको भावना कसरी नयाँ पुस्तामा पुर्याउने भन्ने चिन्ता गरौँ।
परम्परा जोगाउनु भनेको विगतमा फर्किनु होइन।


