भनिन्छ, जिन्दगी आफैँमा एक लामो यात्रा हो। कोही गन्तव्य भेट्टाएर रमाउँछन् त कोही यात्राकै क्रममा जिन्दगीको अर्थ खोज्छन्। सुदूरपश्चिमको बझाङमा जन्मेकी म, पहाड, पखेरा र उकाली–ओरालीसँग अपरिचित त थिइनँ। यसपटकको यात्रा भने नितान्त फरक रह्यो। यो यात्रालाई मैले भूगोल छिचोल्ने अवसरका रूपमा मात्र नलिएर मेरो आफ्नै साहसको परीक्षणका रूपमा पनि लिएकी छु। संयोगले भनौँ वा अवसर, दार्चुलास्थित अपि हिमाल गाउँपालिकामा रहेको ‘अपि बेस क्याम्प’ र सोही क्याम्पबाट ४२०० मिटर उचाइमा अवस्थित ‘कालीढुंगा ताल’ पुग्ने मौका जु¥यो। क्याम्प नजिकै चमेलिया नदीको मुहानमा पुग्ने अवसर पनि पाएँ।
आज मंसिर ११ गतेको राति। धनगढीको कोठामा बसेर सुन्निएका खुट्टा र थाकेको शरीरलाई बिसाउँदै गर्दा मेरो मन भने अझै त्यही अपिको काखमा, त्यही सेता हिमालको चिसो बतासमा खेलिरहेको छ। यो यात्रा त्यही बिर्सिन नसकिने ७ दिनको दस्तावेज हो।

मंसिर ४ गते अपराह्न ४ बजे। मनमा उत्साह र कौतुहलताको भारी बोकेर म धनगढीबाट अपि हिमाल बेस क्याम्पको यात्रामा निस्किएँ। अपि हिमाल गाउँपालिकाले ‘अपि बेस क्याम्प’ प्रवद्र्धनका लागि गरेको निमन्त्रणा मेरा लागि सुनौलो अवसर थियो। गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरेको त्यो निम्तो मेरो लागि सुदूरको पर्यटन चिनाउने एउटा संकल्प थियो।
हामी धनगढीबाट बेलुकीपख जिपमा दार्चुलाका लागि हुइकियौँ। बोलेरो जिपमा पहाडको बाटो यात्रा गर्नुप¥यो। मसँग सहयात्रीका रूपमा थिए, भिडियो ग्राफर भाई उत्तम अवस्थी। मेरो झोलामा लुगाफाटा, ल्यापटप, डायरी र कलमको भार थियो। म त्यहाँ रम्न गइरहेकी थिइनँ, अपिको कथा लेख्न र त्यहाँको संसार बुझ्न हिँडेकी थिएँ।
मंसिर ५ गते रातभरको लामो र थकाइलाग्दो यात्रापछि बिहानपख हामी दार्चुलाको मार्मा गाउँपालिकाको लटीनाथ पुग्यौँ। त्यहाँबाट करिब डेढ घण्टाको कच्ची र कहालीलाग्दो सडक पार गरेर हामी अपि हिमाल गाउँपालिकाको ‘मकरीगाड’ पुग्यौँ।
मकरीगाड— अपि हिमाल गाउँपालिकाको मुटु हो। अपिमा यो ठाउँमा मात्रै जिप पुग्छन्। यो बजार अपि जानेहरूको अन्तिम बिसौनी र सपनाको सुरुवाती बिन्दु हो। अपिका स्थानीयले यही बजारबाट किनमेल गर्छन्। पैदल हिँडेर वा खच्चडमा बोकाएर आ–आफ्नो सरसामान, खाद्यान्न लगायतका सामग्री गाउँ पु¥याउँछन्। टिन र काठले बनेका घरहरू, बजारको चहलपहल, होटलहरूमा मान्छेको भीड र खच्चरवालाहरूको हतारो देख्दा लाग्यो— मकरीगाड अपिको व्यस्त बजार हो।
मकरीगाडमा पर्यटन सूचना केन्द्रमा पुग्दा म निकै खुसी भएँ। गाउँपालिकाले पर्यटकका लागि व्यवस्थित ‘इन्ट्री सिस्टम’ बनाएको रहेछ— अपि बेस क्याम्पमा जाँदा विदेशीलाई ३०० र स्वदेशीलाई १०० रुपैयाँ तिर्नुपर्ने। त्यही केन्द्रसँगै जोडिएको थियो त्यहाँको ‘कोसेली घर’। स्थानीयहरूले बाँस र निगालोबाट बनेका टोकरी, टोपरी, टोपी, डोको, नाम्लो र अर्गानिक उत्पादनहरू हातले बनाइरहेका थिए। ती सामान बनाउनेहरू तालिम अन्तर्गत सिप सिकिरहेका थिए। स्थानीयले तालिम लिएर आफ्नै गाउँमा स्वरोजगार बन्ने सपना बुनिरहेको देख्दा मेरो मन प्रफुल्ल भयो।
मकरीगाडको एउटा होटलमा हामीले नास्ता खायौँ। त्यहाँको स्थानीय पिठोको रोटी, आलु, करेलाको तरकारी र मोहीको स्वादले सहरको चाउमिन र मःमको स्वादलाई धेरै पछि छोडिदियो।
हामीसँगै बेस क्याम्पसम्म जाने नेपाल सरकार संघीय मन्त्रालय, पर्यटन बोर्डका कर्मचारीहरू, वातावरणविद् र भारतको उत्तराखण्डबाट आएका चर्चित कन्टेन्ट क्रिएटरहरूसँग पनि मकरीगाडमा भेट भयो। अब भने मकरीगाडबाट माथि अपि हिमाल गाउँपालिकाको कार्यालयमा जानुपर्ने भयो। अपि बेस क्याम्प जाने मकरीगाडबाट दुईवटा बाटा छन्। एउटा बाटो मकरीगाडबाटै तलबाट रज्यौडा लगायतका गाउँ हुँदै घुसाको उकालो पुगिन्छ। हामीले भने गाउँपालिकाको कार्यालय हुँदै बेस क्याम्प जानु थियो। त्यसैले हामीले माथिल्लो बाटोको उकालो चढ्नुपर्ने थियो। त्यो उकालो बाटोमा पदमार्ग बनाइएको थियो। व्यवस्थित रेलिङसहितका सिँढी बनाइएका थिए।
मकरीगाडबाट उकालो लाग्दै गर्दा सुरुमा त लाग्यो, ‘म हिँड्न सक्छु।’ तर दुई–चार पाइला अघि बढेपछि सास फुल्यो, मुटुको ढुकढुकी बढ्यो। अपि गाउँपालिकाको पहाड, त्यसमाथि ठाडो उकालो। पाइला बढाउन गाह्रो भए पनि मनमा एउटा अठोट थियो– समयमै पुग्नु छ। त्यही भएर पाइला जसोतसो अगाडि बढाइरहेँ।
त्यो उकालो बाटोमा भेटिने खच्चरहरू— यी अपि हिमालका यातायात थिए। तिनै खच्चरले अपिका स्थानीयको प्राण धानिरहेका छन्। चामल, नुन, तेलदेखि सिमेन्टसम्म बोकेर हिँड्ने ती प्राणी देख्दा दया पनि लाग्यो र सम्मान पनि। मकरीगाडदेखि नौपाता, खण्डेश्वरीका गाउँ पुग्न पैदलमार्ग बनाइएको रहेछ। ठाउँ–ठाउँमा शौचालय र धाराको व्यवस्था भए पनि संरक्षणको अभावमा ती तोडफोड भएको देख्दा मन खिन्न भयो। त्यो उकालो बाटोमा करिब तीन हजार भन्दा बढी सिँढी चढ्न हामीलाई करिब तीन–चार घण्टा लाग्यो। यो बाटो बेस क्याम्प जानेहरु भने कम चढ्ने रहेछन्। उनीहरु तलको बाटोनै बढी प्रयाग गर्ने रहेछन्। करिव ८ करोडको लगानीमा बनेको त्यो पैदलमार्गको प्रयोगमा भने कम नै थियो।
नौपाता पुग्दा साँझ पर्न लागेको थियो। नौपाता होमस्टेको आँगनमा गाउँका महिलाहरू आफ्नै मौलिक पहिरनमा सजिएर, हातमा फूलका माला लिएर लामबद्ध थिए। हामी पुग्नेबित्तिकै उनीहरूले कलश राखेर, निधारमा रातो टीका र गलामा सयपत्रीको माला लगाइदिएर जुन प्रकारको स्वागत गरे, त्यो देख्दा मेरा आँखा रसाए। त्यो अपिबासीको निस्वार्थ माया र सम्मान थियो। उनीहरूले अपिको मौलिक नाच देखाए, देउडा गाए। हामी पनि त्यो माहोलमा मिसियौँ।
त्यो रात त्यहाँ पुगेका हामीहरू फरक–फरक होमस्टेमा बास बस्यौँ। मेरो बास खडक ठेकरे दाइको घरमा भयो। दाउराको चुलोमा पकाएको मकैको रोटी, रायोको साग, भाँगो–पुदिना–टिमुरको चटनी, स्थानीय राजमाको दाल र दही। आहा ! त्यो स्वाद जिब्रोमा अझै झुण्डिएको छ। त्यो रात आमालाई फोन गरेँ, ‘मम्मी म सुरक्षित छु, रमाइलो छ।’
मंसिर ६ गते बिहान सबेरै उठ्यौँ। होमस्टेकी दिदी (खडक दाइकी श्रीमती) ले दिएको बाक्लो र मीठो भैँसीको दूध पिएर शरीरमा ऊर्जा थपेँ। फापरको माडा र तरकारी खाएर म बेस क्याम्पको यात्राका लागि तयार भएँ। खडक दाइ पनि हामीसँगै बेस क्याम्पको यात्रामा जाने हुनुभयो। उहाँले पर्यटन बोर्डबाट आएका कर्मचारीको झोला बोक्नमा सहयोग गर्ने हुनुभयो। होमस्टेकी दिदीको सुझाव मानेर मैले भारी कम गर्न एउटा झोला र ल्यापटप त्यहीँ छोडेँ। दिदीले फूलमाला र टीका लगाएर यात्राका लागि बिदा गर्नुभयो। पालिकाबाट दुई जना कर्मचारी यात्रामा सहजीकरण गर्न हामीसँगै गाउँपालिका अध्यक्षले पठाउनुभयो। तीन जना मन्त्रालय, एक जना पर्यटन बोर्ड, अर्को एक संस्थाबाट आएका कर्मचारी, दुई जना पालिकाका कर्मचारी, खडक दाइ, चार जना भारतीय कन्टेन्ट क्रिएटर र दुई जना हामी गरी १४ जनाको टिम बन्यो।
बिहानै नौपाताबाट सुरुमा ओरालो झर्नुपर्ने रहेछ। सुरुमा म लट्ठी बिना नै हिँड्छु भन्ने सोचेकी थिएँ। तर बाटोको विकटता देखेपछि बाध्य भएर ‘लौरी’ (लट्ठी) को सहारा लिनै प¥यो। त्यो लौरो मेरो तेस्रो खुट्टा थियो। ओरालो झर्दा घुँडाहरू काप्न थाले। करिब एक घण्टा ओरालो झरेर नदी पार गरेपछि सुरु भयो— ‘घुसाको उकालो’।
यो उकालोको नाम सुन्नेबित्तिकै स्थानीयहरू लामो सास फेर्थे। नभन्दै, यो निकै कठिन उकालो रहेछ। उकालोको सुरुवातमै एउटा सुन्दर झर्ना देखियो। एकछिन त्यो झर्नाको सौन्दर्यमा हराएर हामीले सास फे¥यौँ। अगाडि काला र डरलाग्दा चट्टानसहितको पहाड ठिंग उभिएको थियो।
करिब ३ घण्टाको त्यो ‘घुसाको उकालो’ चढ्दा मेरो हात–खुट्टा गले। कम्मर दुखेर हैरान भयो। बाटोमा भेटिने मान्छेलाई ‘अब कति छ?’ भनेर सोध्दा कसैले ‘थोरै छ’ भन्थे त कसैले ‘ओहो ! अझै धेरै छ’ भन्थे। थोरै छ भन्दा मनमा आशा पलाउँथ्यो, धेरै छ भन्दा अत्यास लाग्थ्यो।
घुसा गाउँ पुग्ने बेला खेतको बाटो हिँड्नुपर्ने रहेछ। भर्खर गहुँ छरेका कालो माटो भएका खेतहरू। हावा चल्दा त्यो माटो उडेर हामीलाई धुलोले छोप्यो। धुलो खाँदै, सास फेर्दै हामी घुसा गाउँ हुँदै ‘नाली’ पुग्यौँ। नालीमा त्यो दिनको दिउँसोको खाना खायौँ। खाना अर्गानिक थियो। खाना खाएर अलिकति विश्राम लिएपछि हामी अगाडि बढ्यौँ। त्यसपछिको बाटो भने अलि सहज नै थियो। उकालो कम थियो।
चारैतिर पहाड, बीचमा साना गाउँहरू। उकालो काट्दै, कहिले तेर्सो त कहिले ओरालो बाटो हुँदै हामी साँझपख ‘सिती गाउँ’ पुग्यौँ।
सिती गाउँ पुग्दा गाउँ निकै सुन्दर देखियो। त्यहाँ तीन वटा घरमा होमस्टे सञ्चालनमा थिए। हामी टिम तीनवटा भागमा बाँडियौँ। टिममा कोही छिटो हिँड्ने थिए, कोही मध्यम त कोही सुस्त। म विस्तारै हिँड्ने टिममा थिएँ। त्यो रात हामीले सिती गाउँमै बास बस्यौँ। हामी देवेन्द्र होमस्टेमा बस्यौँ। त्यहाँ कविन्द्र धामी भाइले मिठो खाना पकाए। २१ वर्षको कलिलो उमेरमा उनी गाउँमा होमस्टे चलाएर स्वदेशमै केही गर्ने सपना देखिरहेका छन्।
मंसिर ७ गते गन्तव्य अझै माथि थियो। सिती गाउँबाट बिहानको खाना खाएर हामी ओरालो बाटोमा लाग्यौँ। सुरुमा ओरालो, बीचमा पाटन र फेरि उकालो बाटो थियो। पदमार्ग व्यवस्थित बनाइएको थियो।
सितीबाट हिँडेपछि हामी ‘खायकोट’ पुग्यौँ। खायकोटको भूगोल र त्यहाँको हावापानीले विस्तारै उचाइ बढ्दै गएको संकेत गथ्र्यो। बाटोमा चमेलिया नदीको सुसाहट र जंगलको शान्त वातावरणले एक किसिमको ध्यानमा रहेजस्तो महसुस गराउँथ्यो। बाटोमा भेटिएका गोठालाहरू र भीरपाखामा चर्दै गरेका भेडाच्याङ्ग्राहरूको घण्टीको आवाजले सन्नाटालाई संगीतमा बदल्थ्यो।
हिँड्दै, थकाइ मार्दै हामी दिउँसोको खाना खान ‘छिरछिरे’ पुग्यौँ। छिरछिरेमा हामीले यात्राको थकान मेट्दै खाना खायौँ। त्यहाँको चिसो पानी र स्थानीय खानाले शरीरमा पुनः ऊर्जा भरिदियो।
छिरछिरेबाट फेरि उकालो सुरु भयो। अबको बाटो झन् चिसो र लेकाली थियो। स्थानीयहरू भन्थे, ‘अबको उकालोले मुटु जाँच्छ।’ नभन्दै, नाक ठोक्किने उकालो, तल हेर्दा चमेलिया नदी सेतो धर्को जस्तो देखिने, माथि हेर्दा टोपी खस्ने भीर। जति पाइला चाल्यो, उति सास फुल्ने। चिसो सिर्सिरे हावाले गाला चिस्याउँथ्यो। पसिनाले निधार भिजिरहन्थ्यो। छिरछिरेपछि सिमार हुँदै गएको त्यो बाटो मलाई यात्राको सबैभन्दा लामो बाटो लाग्यो। हिँड्दाहिँड्दै झमक्क रात प¥यो। जंगलको बाटोमा अँध्यारो हुँदा मलाई कताकता डरले सतायो। टिमका कतिपय साथीहरू ‘धौलीओडार’ (जहाँ हाम्रो बास बस्ने कार्यक्रम थियो) पुगिसकेका थिए। हामी भने धौलीओडार पुग्न नदीको छेउको उकालो बाटो हिँड्दै थियौँ। हामी भन्दा पछाडि भारतीय कन्टेन्ट क्रिएटरहरू थिए। उनीहरू बाटोमा भिडियो खिच्दै, स्टोरी बनाउँदै हिँड्दा पछाडि छुटेका थिए। उसो त मैले पनि बाटोमा भेटिएका कथालाई समेट्ने मनसायले भिडियो र फोटो खिचेकी थिएँ।
त्यो रातको बाटोमा हिँड्दा मेरो हात–खुट्टा थकित थिए। राति कतै बाटोमा जंगली जनावरले आक्रमण पो गर्छ कि भन्ने पीर पनि मनमा थियो। मैले पाइला–पाइलामा ध्यान दिँदै अगाडि बढिरहेँ। त्यो रात हिँड्दा मलाई सपना हो कि विपना हो जस्तो लागेको थियो। रातको करिब सात बजेतिर हामी ‘धौलीओडार’ पुग्यौँ।
धौलीओडार— ४२०० मिटरको हाराहारी उचाइमा रहेको, बेस क्याम्प पुग्नु अगाडिको अन्तिम बिसौनी। नाम ओडार भए पनि त्यहाँ व्यवस्थित खाना र बासका लागि सुन्दर घर बनाइएका थिए। त्यहाँको ‘रेड हाउस’ (रातो रङ पोतिएको टिनको छाना भएको घर) देख्दा लाग्यो— अहो! यहाँ पनि यस्तो राम्रो घर पो हुने रहेछन्। सँगै जोडिएको अर्को ‘ग्रीन हाउस’ नामक क्याम्प थियो। दुवैमा हाम्रो टोलीको बास भयो। सिती गाउँदेखि धौलीओडारसम्म दिनभरिको हिँडाइको थकाई मार्न त्यहाँ तातो पानीले हात–खुट्टा धियौँ। तातो पानी बिना सम्भव थिएन, किनकि पानीमा बरफ जमेको थियो। धौलीओडारमा निकै चिसो थियो। घरको छेउनेर बालेको आगोको वरिपरि बसेर तातियौँ।
पर्यटन मन्त्रालयका सरहरू अनुगमनका लागि बेसक्याम्पको यात्रामा थिए, उहाँहरू सबैभन्दा अगाडि धौलीओडार पुगेका थिए। बाटोमा हामी भन्दा पछि रहेका भारतीय भ्लगरहरू पनि करिब ८ बजेतिर त्यहाँ पुगे। सबैजना थकित तर उत्साहित थियौँ। भोलि बिहानै बेस क्याम्प पुग्ने सपनाले त्यो रात धौलीओडारमा हामीले मिठो अर्गानिक खाना खाएर आ–आफ्नो सुत्ने ठाउँमा निदायौँ। त्यहाँ एकदम चिसो थियो, तर ओढ्ने–ओछ्याउने निकै बाक्लो भएकाले त्यसको सहारामा चिसोलाई छेक्यौँ।
मंसिर ८ गते यो मेरो जीवनको सबैभन्दा विशेष दिन थियो। बिहान ७ बजे नै उठेर हामी धौलीओडारबाट उकालो लाग्यौँ। बिहानको चिसोले हातखुट्टा कठ्यांग्रिएका थिए।
धौलीओडारबाट करिब २ घण्टाको उकालो हिँडेपछि हामी एउटा फराकिलो पाटनमा पुग्यौँ। त्यहाँ पुग्दा घामका सुनौला किरणहरू अपि हिमालको चुचुरोमा पर्दै थिए। ७१३२ मिटर अग्लो अपि हिमाल मेरो आँखा अगाडि मुस्कुराइरहेको थियो। त्यो दृश्य देख्दा म केही बेर एकटक हेरिरहेँ। अहिले अपिमा हिउँ भने धेरै देखिएन, तर सँगै जोडिएका अरु चुचुराहरूमा भने हिउँ बढी थियो। अपिको फेदबाट चारैतिर हेर्दा हिमालका चुचुरा हाँसिरहेका थिए। मेरो अगाडि अद्भुत शक्ति ‘अपि’ उभिएको थियो। त्यो देख्नेबित्तिकै मेरो मुखबाट निस्कियो— आहा!
फोटो र भिडियोमा मात्र देखेको अपि आफ्नै आँखा अगाडि देख्न पाउँदा मैले जीवनको सबैभन्दा बहुमूल्य क्षणका रूपमा त्यो पललाई कैद गरेँ।
अपि फेदमा रहेको मैदानको क्याम्पमा हामीले चिया खायौँ। केही समय आगो ताप्यौँ। बिहानपखको घाम अनि त्यहाँको दृश्यलाई शब्दमा उतार्न सक्ने मसँग शक्ति भएन। फेदमा तीन वटा जति घरहरू थिए। ती घरमा खान र बस्नको व्यवस्था थियो। बिहान आगो ताप्दै त्यहाँको यार्चा होटलमा राखिएको गितार बजाउँदै भारतीय कन्टेन्ट क्रिएटरहरूले गीत गाए। हामी रमायौँ।
क्याम्पबाट अझै माथिको यात्रा बाँकी थियो। त्यहाँबाट करिब तीन घण्टा हिँडेपछि ४२०० मिटरको उचाइमा पुगेपछि भेटिएको अर्को सुन्दरता— कालीढुंगा ताल।
निलो, कञ्चन पानी। वरिपरि सेता हिमाल। तालमा हिमालको प्रतिविम्ब। त्यो दृश्य मेरो जीवनको पहिलो थियो। मैले आजसम्म त्यस्तो सुन्दर दृश्य देखेकी थिइनँ। तालको माथिपट्टि फरफराइरहेको राष्ट्रिय झण्डा। त्यहाँ पुगेपछि मैले आफ्नो सबै दुःख, पीडा र थकान बिर्सिएँ। लाग्यो, स्वर्ग भनेको सायद यही हो। जब म ताल नजिक पुगेँ, खुसीले चिच्याएँ।
हामीले तालको छेउमा बसेर फोटो खिच्यौँ, भिडियो बनायौँ। तालको एक पट्टीको भागमा पानी जमेको थियो। उत्साहित हुँदै हामीहरू त्यो तालको बरफमाथि गयौँ। खुसीले त्यही बरफमाथि सुतेर फोटो खिच्यौँ। तालको वरिपरि परिक्रमा ग¥यौँ। त्यहाँको पवित्रता र शान्तिले मलाई भित्रैदेखि शुद्ध बनायो। छेउमा रहेको मन्दिरमा प्रार्थना ग¥यौँ। प्राकृतिक सुन्दरतासँगै यो तालको धार्मिक महत्व पनि उस्तै थियो। चन्द्रमा आकारको यो ताल देखेर मैले महसुस गरेँ— यो ठाउँ सुन्दरताको खानी त छँदैछ, सँगै यो आर्थिक समृद्धिको स्रोत पनि हो।
मैले तालको किनारमा बस्दै मनमनै सोचेँ– ‘यो प्रकृति सधैँ यसरी नै हाँसिरहोस्, र म फेरि यहाँ आउन पाउँ।’ मनले त अझै बस्न पाए हुन्थ्यो भन्ने लागेको थियो तर, समय कम थियो। त्यहाँबाट तल फेद क्याम्पमा फर्केर फेरि चमेलिया (चौलानी) नदीको मुहानमा जानुपर्ने थियो। तालमा करिब दुई घण्टा बिताएर हामी तल फर्कियौँ।
तल फर्किंदा दिउँसोको ३ बजिसकेको थियो। क्याम्पमा खाना खाएपछि हामी चमेलियाको मुहानमा पुग्यौँ। चमेलिया नदीले देशको विद्युतमा ठूलो योगदान दिएको छ। मुहानमा जाँदा अर्को स्वर्ग भेटिएको आभास मलाई भयो। मुहानबाट फर्किंदा साँझ परिसकेको थियो। अर्काे रिङ्दे तालमा पुग्न भने समय पुगेन। त्यहाँबाट फर्केर केही समय क्याम्पमा होटल सञ्चालकसँग कुरा ग¥यौँ। यार्चा होटलका एक काकाले सामानहरू खच्चडमा ल्याउने गरेको र बाहिरका विदेशी तथा स्वदेशी पर्यटकको सेवा गर्न पाउँदा खुसी लागेको कुरा सुनाए। धेरै आम्दानी नभए पनि सिजनमा यही क्याम्पमा काम गरेर उनी घरखर्च चलाउने रहेछन्। त्यहि क्याम्पमा मलाई ती काकाले अपिको मौलिक पहिरन लगाइदिए। त्यहि पहिरहनमा मैलेँ सजिएर भिडियो र तस्विर खिचेँ। त्यो दिन पनि बित्यो, रात प¥यो र हामी क्याम्पबाट तल ओरालो झ¥यौँ।
गन्तव्यमा पुग्नु जति रमाइलो हुन्छ, फर्कनु त्यति नै नरमाइलो र गाह्रो। अपि, अपिको फेद, फाँटा, कालीढुंगा र चमेलिया मुहानलाई बिदाइ गरेर ओरालो झर्दै गर्दा मेरा घुँडाहरूले जवाफ दिइसकेका थिए। उकालो चढ्दा सास फुल्थ्यो, ओरालो झर्दा घुँडा काम्थे। त्यो रात पनि धौलीओडारमै बित्यो।
मंसिर ९ गते बिहानै हामी फर्कियौँ। फर्किंदा ओरालो बाटो बढी थियो, त्यसैले केही सहज भयो। धौलीओडारबाट हामी सिती गाउँमा बास बस्यौँ। मंसिर १० मा सिती गाउँबाट हामी मकरीगाडका लागि हिँड्यौँ। नाली, घुसा हुँदै हामी आउने बेलाको गाउँपालिकाको कार्यालयको बाटो नभई सिधै तलको रज्यौडा बाटो हुँदै मकरीगाड गयौँ। अपि बेस क्याम्प जानेबेला राखेका सामानहरू नौपाता होमस्टेबाट खच्चडमा मकरीगाड पु¥याइएको थियो। मकरीगाड पुग्ने बेला रज्यौडाका स्थानीयले फलाएका रसिला मौसमी र उखुले हाम्रो तिर्खा मेटायो। मौसमीलाई त्यहाँको डल्ले खुर्सानीको पिरोसँग खायौँ। मकरीगाड पुग्दा साँझको ५ बजिसकेको थियो। हामी मकरीगाडबाट जिप चढेर धनगढीका लागि फर्कियौँ। मंसिर ११ गते बिहान धनगढी पुग्यौँ। थकाइले मैलेँ दिउँसो आराम गरेँ। राति मैले त्यो यात्रालाई सम्झिएँ।
अपि बेस क्याम्पको यात्रा मेरो जीवनको महत्वपूर्ण सिकाइ हो। यो शारीरिक यात्रा मात्र थिएन। मैले अपिको सुन्दरता र रहस्य देखेँ। अपिका लागि टाढा–टाढाबाट आउने विदेशीको लगाव देखेँ। अपि, चमेलिया नदी, कालीढुंगा ताल, हिमालका चुचुरा, झरना र खोलानाला सबैले मलाई हाँस्न सिकाए।
अपिको लुकेको सौन्दर्य र त्यहाँको अथाह सम्भावना देखेर मैले महसुस गरेँ— म संसारको धनी देशको नागरिक रहेछु। अपिले दिएको सम्भावनाले अपि हिमाल गाउँपालिकाका मान्छेको जनजीवनमा आएको परिवर्तन देखेँ। सम्मान–सत्कार गर्ने, होमस्टे सञ्चालन गर्ने, क्याम्पमा होटल चलाउने र आम्दानी गर्ने गरेको देख्दा खुसी लाग्यो। विगत दुई वर्षयता यहाँ संरचना बनेको र पर्यटकहरूको आवागमन निकै बढेको पाएँ। अपि हिमाल गाउँपालिकाले मन्त्रालय, पर्यटन बोर्ड, अपिनाम्पा संरक्षण क्षेत्र र एसटीडी प्रोजेक्टसँग मिलेर यहाँका पर्यटन गतिविधि बढाएको देख्दा भविष्य अझै उज्ज्वल पाएँ।
अपि हिमाल गाउँपालिकाले पर्यटनप्रति देखाएको चासो, पर्यटन मन्त्रालयको सक्रियता र स्थानीयको उत्साह देख्दा मलाई विश्वास छ— अपि ओझेलमा पर्ने छैन। बाटो गाह्रो छ, पूर्वाधारको कमी छ, तर त्यहाँ पुग्दा पाइने आनन्दको तुलनामा ती दुःखहरू नगण्य छन्। यद्यपि, अपिमा सबैभन्दा ठूलो समस्या बाटोको छ। सडक सुविधा भए ‘सुनमा सुगन्ध’ हुन्थ्यो। सामानहरू ढुवानी गर्न र बिरामी पर्दा सहज हुन्थ्यो। सडक, विद्युत, स्वास्थ्य र शिक्षामा अझै लगानी बढाउनुपर्छ भन्ने मेरो यात्राले बुझायो।
अन्तमा, यो यात्रामा मलाई साथ दिने मेरो भिडियो ग्राफर भाई उत्तम, लौरो समातेर डो¥याउने गाउँपालिकाका कर्मचारी विसन ठेकरे दाइ, पाइला–पाइलामा साथ दिने र बाटोबारे बताउने खडक दाइ, उमेश दाई, मन्त्रालय तथा पर्यटन बोर्डका कर्मचारीहरू, आत्मीयता र निस्वार्थ भावना बोकेका भारतीय कन्टेन्ट क्रिएटरहरू, विशेष गरेर अपि हिमाल गाउँपालिका, न्यानो माया दिने नौपाता र सितीका दिदिआमाहरू र यो अवसर दिने गाउँपालिकालाई धन्यवाद। मैले यात्रामा भेटिएका कथाहरू समाचार र फिचरमा लेख्दै जानेछु।
भौतारिरहेको जीवनलाई एक दिशा दिन र जीवनमा शान्ति पाउन अपिले मलाई ठूलो ऊर्जा दिएको छ। यदि तपाईं पनि जिन्दगीको असली अर्थ खोज्दै हुनुहुन्छ, प्रकृतिको काखमा हराउन चाहनुहुन्छ र आफ्नै साहसलाई चुनौती दिन चाहनुहुन्छ भने— एकपटक अपि बेस क्याम्प अवश्य जानुहोस्। त्यो ‘स्वर्गको टुक्रा’ तपाईंको पर्खाइमा छ। तपाईंहरूको दुःख बिर्साउन अपि सधैँ हाँसिरहेको छ। तपाईंको स्वागतका लागि नौपाता, सिती, नाली, छिरछिरे, धौलीओडार र माथि क्याम्पका होमस्टेहरू पर्खाइमा छन्। अपिको यात्राबाट मलाई जीवन बदल्ने अनुभव मिलेको छ।
