19.7 C
Dhangadhi
Thursday, October 22, 2026

प्रदेशसभा र युवाबीच खुला छलफल, युवाले सोधे– समस्या कहिले समाधान हुन्छ?

पढनै पर्ने

सुदूरपश्चिम प्रदेशसभा र क्याम्पस विद्यार्थीबीच प्रदेशसभाको कामकारबाही, कानुन निर्माण तथा युवाका सवालका विषयमा भएको खुला छलफलमा विद्यार्थीहरूले समस्या समाधान कहिले हुन्छन् भन्दै प्रश्न गरेका छन्।
बिहिवार सुदूरपश्चिम प्रदेशसभा सचिवालयको समन्वय, सिर्जनशील वातावरण तथा समाज विकास नेपालको आयोजना र यूएनडीपी संसद् सहयोग परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले सभामुख भीम भण्डारी, सांसद लक्ष्मी विकलगायतसँग सुदूरपश्चिमका समस्या र समाधानबारे प्रश्न गरेका थिए।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सचिवालयका प्रशासनिक अधिकृत युवराज जैसीले खुला संसदका विषयमा जानकारी गराएका थिए। उनले ससंदका गतिविधि बारे युवा र नागरिक जोड्न सकिने व्यवस्थाका बारेमा र यस विषयमा सभा र सचिवालयले गरिरहेका काम बारे पनि जानकारी गराएका थिए।
यस्तै उनले प्रदेशसभाले निर्माण गर्ने विधेयकमा जनताको सुझाव लिनुपर्ने व्यवस्था रहेको बताए।
उनका अनुसार प्रदेशसभाले ल्याएका विधेयक कस्तो किसिमको हुनुपर्छ भन्ने विषयमा जनताबाट सुझाव लिने व्यवस्था छ। जनताको सुझाव लिएपछि मात्रै सभाले विधेयक अगाडि बढाउने उनले जानकारी दिए।
कार्यक्रममा विद्यार्थीहरूले प्रदेशसभाले बनाउने कानुनले जनताको दैनिक जीवनमा कस्तो प्रभाव पारेको छ भन्ने विषयमा प्रश्न गरेका थिए। विशेषगरी शिक्षा, स्वास्थ्य, बेरोजगारी, छाउपडी प्रथा तथा दलित समुदायका समस्यालाई लिएर विद्यार्थीहरूले सभामुख र सांसदसँग जवाफ मागेका थिए।
प्रियंका सुनारले समुदायका सबै नागरिकले अझै शिक्षा पाउन नसकेको भन्दै प्रदेश सरकारले बनाएका नीति तथा नियमबाट दलित समुदायलाई वास्तविक रूपमा के फाइदा पुगेको छ भनेर प्रश्न गरे।
अन्य विद्यार्थीहरुले सुदूरपश्चिममा अझै छाउपडीको समस्या रहेको, छाउगोठमै बस्नुपर्ने र त्यसै क्रममा ज्यान गुमाउने अवस्था रहेको भन्दै प्रदेशसभाले यस विषयमा प्रभावकारी काम गर्न नसकेको गुनासो गरे।
यस्तै, सुदूरपश्चिमका पहाडी जिल्लामा शिक्षाको पहुँच अझै सहज नभएको, सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको तथा सरकारी र निजी विद्यालयबीचको शैक्षिक अन्तर बढ्दै गएको विषय पनि विद्यार्थीहरूले उठाएका थिए।
उनीहरूले सरकारी विद्यालयको अवस्था सुधार गर्न र निजी तथा सरकारी विद्यालयबीचको अन्तर घटाउन प्रदेशसभाले के काम गरिरहेको छ भनेर प्रश्न गरे। रोजगारीको अवसर कम हुँदा युवाहरू विदेश तथा अन्य जिल्लामा जानुपर्ने बाध्यता रहेको भन्दै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने योजनाबारे पनि उनीहरूले जिज्ञासा राखेका थिए।
विद्यार्थी साहाना भट्टले निर्वाचनका बेला जनप्रतिनिधि घरदैलोमा पुगेर मत माग्ने तर निर्वाचनपछि जनताका समस्या समाधानमा पर्याप्त ध्यान नदिने गरेको गुनासोसमेत गरेकी थिइन्। प्रदेशसभामा विधेयक निर्माणको गति कम भएको तथा राज्यको खर्च भएअनुसार काम देखिन नसकेको भन्दै उनले प्रश्न उठाएका थिइन्।
प्रदेशसभा सदस्य लक्ष्मी विकले युवाका सवाललाई प्रदेशसभामा व्यवस्थित रूपमा उठाउँदै आएको बताइन्। दलित, महिला र युवाका विषयमा आफूले निरन्तर आवाज उठाउँदै आएको बताउँदै उनले युवालाई प्रदेशसभासँग जोड्न विभिन्न प्रयास भइरहेको जानकारी दिइन्।
सुदूरपश्चिममा शिक्षा, स्वास्थ्य, छाउपडी, बेरोजगारी तथा दलित समुदायका समस्या रहेको स्वीकार गर्दै विकले ती समस्या समाधानका लागि आवश्यक कानुन निर्माण तथा सरकारसँग छलफल गरिरहेको बताइन्।
उनका अनुसार प्रदेशसभाबाट बन्ने कानुन तथा नीति जनताको समस्यालाई सम्बोधन गर्ने खालका बनाउनुपर्नेमा जोड दिइँदै आएको छ। विधेयक निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सरकारसँग समेत कुरा राख्ने गरिएको उनले बताइन्।
सभामुख भीम भण्डारीले प्रदेशसभाले आफ्नो क्षेत्राधिकारभित्र रहेर आवश्यक भूमिका निर्वाह गरिरहेको बताएका छन्। प्रदेशसभाले धेरै विधेयक पारित गर्नुका साथै जनताका सवाललाई सम्बोधन गर्न आफ्नोतर्फबाट सक्दो प्रयास गरिरहेको उनको भनाइ छ।
तत्काल गर्नैपर्ने कामका सन्दर्भमा प्रदेशसभाले आवश्यक निर्देशन दिने गरेको उनले बताए। विकास निर्माणको काम सरकारको जिम्मेवारी भएकाले प्रदेशसभाले सरकारको निगरानी गर्ने, कमजोरी औँल्याउने र आवश्यक विषयमा आवाज उठाउने काम गरिरहेको उनले स्पष्ट पारे।
‘हामी अहिले विकास निर्माणको काम गर्ने होइनौँ, विकास निर्माणको काम सरकारले गर्ने हो। हामी सरकारलाई निगरानी गर्ने, कमजोरी केलाउने काम गर्छौँ,’ सभामुख भण्डारीले भने।
उनले युवाका सवाल प्रदेशसभामा व्यवस्थित रूपमा उठाउँदै आएको बताए। पछिल्लो राजनीतिक घटनाक्रममा पनि युवासँग जोडिएका विषयमा खुला बहस गरिएको उल्लेख गर्दै युवालाई प्रदेशसभासँग जोड्न आवश्यक रहेको उनले बताए।
भण्डारीले संघीयता कार्यान्वयन भएको नौ वर्षको अवधिमा सुदूरपश्चिममा धेरै परिवर्तन आएको दाबी गरे। प्रदेशसभा र प्रदेश सरकार स्थापना भएपछि सुदूरपश्चिम राज्यको मूल संरचनासँग थप जोडिएको उनले बताए।
‘हिजोभन्दा धेरै परिवर्तन भएको छ, आवश्यकता धेरै छन्। गर्नुपर्ने काम भइरहेका छन् र समस्या परेका ठाउँमा सांसदहरूले आवाज उठाइरहेका छन्, सबै विपोजेटिभ हुनुपर्छ,’उनले भने।
प्रदेशसभाका गतिविधिलाई डिजिटल माध्यमबाट युवासँग जोड्ने विषयमा समेत काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। पछिल्लो ‘जेन्जी’ आन्दोलनका क्रममा प्रदेशसभाका भौतिक संरचनामा क्षति पुगेकाले डिजिटल माध्यमबाट सभाका गतिविधि सञ्चालन तथा युवासँग जोडिनसमेत चुनौती रहेको उनको भनाइ थियो।
।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार