कैलाली स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिल कुमार जोशीले विश्वविद्यालय परिसरमा वर्षायामका कारण अत्यधिक फैलिएको झाडी, बुट्यान तथा अनावश्यक वनस्पति हटाउन सामुदायिक सहयोगको आह्वान गरेका छन्।
विश्वविद्यालयद्वारा जारी सूचनाअनुसार झाडीको अत्यधिक विस्तारले परिसरको सरसफाइ, सौन्दर्य तथा कर्मचारी, सेवाग्राही र आगन्तुकको सुरक्षित आवतजावतमा समस्या सिर्जना गरेको छ। साथै सर्प, किरा तथा अन्य जीवजन्तुको जोखिम पनि बढेको उल्लेख गरिएको छ।
विश्वविद्यालयले संस्थाको प्रारम्भिक चरण, सीमित बजेट र स्रोत–साधनका कारण सम्पूर्ण सरसफाइ तथा झाडी कटान कार्य तत्काल आफ्नै स्रोतबाट सम्पन्न गर्न कठिन भएको जनाएको छ। यसका लागि सामाजिक संस्था, युवा क्लब, रेडक्रस, नागरिक समाज, स्थानीय समूह तथा अन्य सरोकारवालालाई अभियानमा सहभागी हुन अनुरोध गरिएको छ।
सूचनामा जनशक्ति, श्रमदान, झाडी काट्ने उपकरण, सुरक्षा सामग्री, फोहोर व्यवस्थापनलगायत आवश्यक सहयोग उपलब्ध गराई विश्वविद्यालय परिसरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन योगदान दिन आग्रह गरिएको छ। इच्छुक संघ–संस्थाले विश्वविद्यालय प्रशासनसँग समन्वय गरी अभियानमा सहभागी हुन सक्ने जनाइएको छ।
उपकुलपति डा. सुनिल कुमार जोशीले स्वास्थ्य विज्ञान शिक्षाको केन्द्रका रूपमा विकास भइरहेको विश्वविद्यालयको वातावरण सुधारमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।


