सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्रमा ठुलै लगानी गरेको दाबी गरेको छ । तर आफूहरूले उपचारका लागि सधैँ सास्ती भोग्न बाध्य भएको सर्वसाधारणको गुनासो छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा। चेतराज जोशीका अनुसार प्रदेश सरकारले क्यान्सर र सिकलसेल एनिमिया जस्ता गम्भीर खालका रोगको उपचारमा ठुलो लगानी गरेको छ ।
खासगरी थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया र थालासेमिया रोगको पहिचान र निदानमा प्रदेश सरकारले ‘घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रम’ सञ्चालन गरेको महाशाखाको भनाइ छ । यो कार्यक्रमअन्तर्गत कैलालीमा ८४४ जना र कञ्चनपुरमा ३ हजार ५५३ जनाको रगत परीक्षण गरिएको छ ।
‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु वा समयमै पहिचान गर्नु ठुलो उपलब्धि हो,’ डा। जोशी भन्छन् । यो परीक्षणले हजारौँ नागरिकलाई भविष्यमा हुनसक्ने जटिल स्वास्थ्य जोखिमबाट जोगाउने उनको भनाइ छ ।
सामाजिक विकास मन्त्रालयले क्यान्सर उपचारमा पनि प्रदेशले नयाँ काम सुरु गरेको छ । सेती प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेवा सुरु भई फागुनसम्म १०० जनाले सेवा लिएको छ । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगको सहकार्यमा नाक, कान, घाँटी, मुख तथा महिलाहरूको पाठेघर र स्तन क्यान्सरको पहिचान तथा उपचार सेवा सुरु गरेको मन्त्रालयले जनाएको छ ।
पुनर्वास, भजनी, गोदावरी र परशुराम नगरपालिकामा १ हजार ५ सय जनाको उच्च प्रविधिले परीक्षण गर्दा १४ जनामा क्षयरोग पुष्टि भएको छ । परम्परागत विधिबाट पत्ता नलाग्ने केसहरू एआईको मद्दतले पत्ता लाग्नुले संक्रामक रोग नियन्त्रणमा नयाँ आशा जगाएको मन्त्रालयले जनाएको छ । साथै, एचआईभी परीक्षणलाई अभियानकै रूपमा सञ्चालन गर्दा २८१ जना नयाँ संक्रमित पत्ता लागेको जनाइएको छ । यो अभियानलले लुकेका केसहरूलाई उपचारको दायरामा ल्याउन मन्त्रालयले महत्वपूर्ण काम गरेको डाक्टर जोशीले जानकारी दिए ।
प्रदेश सरकारले स्वास्थ्यलाई नागरिकको मौलिक हकको रूपमा स्थापित गर्न सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ । पैसा नभएका कारण कोही पनि उपचारबाट वञ्चित हुनु नपरोस्’ भन्ने उद्देश्यले प्रदेश मातहतका अस्पतालहरूमा लक्षित वर्गका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
यस कार्यक्रमबाट प्रदेशका अस्पतालहरूबाट ३८७ एकल महिला, ७० वर्ष नाघेका २ हजार ७२९ ज्येष्ठ नागरिक र १८६ जना ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूले पूर्णतः निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् । साथै, विपन्न नागरिक औषधि उपचार सहायता कार्यक्रमअन्तर्गत १०४ जनाले आर्थिक सहायता प्राप्त गरेको मन्त्रालयको तथ्यांक छ ।
रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनेर नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सुरु गरिएको निःशुल्क रक्तसञ्चार सेवाअन्तर्गत ४३५ पिन्ट रगत निःशुल्क उपलब्ध गराइएको छ । ६ हजार महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा पनि गरिएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयमा सञ्चालनमा ल्याइएको अन्तरंग सेवामा एक वर्षको अवधिमा २३ हजार ५७ जना लाभान्वित भएको डा। जोशीले बताए ।
पूर्वाधारतर्फ टीकापुर अस्पतालमा सरुवा रोग भवन निर्माण सम्पन्न भएको छ । आयुर्वेद चिकित्सालयमा फिजियोथेरापी सेवा विस्तारका लागि उपकरण खरिद प्रक्रिया अघि बढेको छ । अपाङ्गता भएका ३५ जनालाई ह्विलचेयर वितरण र सेती प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य सेवाको सुरुवात गरिएको मन्त्रालयले जनाएको छ ।
महाशाखा प्रमुख डा। जोशीका अनुसार मन्त्रालय र मातहतका निकायमा स्वीकृत दरबन्दी ७५८ रहेकोमा ३७२ दरबन्दी रिक्त छन् । अर्थात्, झण्डै ५० प्रतिशत पदमा कर्मचारी छैनन् । ३८६ जना कर्मचारीको भरमा सिङ्गो प्रदेशको स्वास्थ्य प्रणाली धानिएको छ ।
‘पूर्वाधार बनिसकेका छन्, महँगा उपकरणहरू खरिद भएका छन्, तर तिनलाई सञ्चालन गर्ने प्राविधिक र विशेषज्ञ चिकित्सकको अभाव छ,’ जोशीले भने ।
स्थायी दरबन्दी नहुनु र अस्थायी दरबन्दीमा पनि पदपूर्ति गर्न नसक्नुले सेवाप्रवाहमा गम्भीर असर पनि पारेको मन्त्रालयले जनाएको छ । डाक्टर र नर्सको अभावमा बिरामीले गुणस्तरीय सेवा पाउन नसकेको बताइएको छ । बजेट निर्माणमा ढिलाइ र पूर्वतयारी बिनाका योजनाहरूले पनि कार्यान्वयनमा जटिलता थपेको मन्त्रालयले स्वीकार गरेको छ । मन्त्रालय पछिल्लो एक वर्षमा स्वास्थ्य क्षेत्रमा काम कामबाट खासै उपलब्धि भने नभएको सर्वसाधारणको बुझाइ छ ।
स्थानीयहरू अहिलेसम्म स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या भोगिरहेको बताइरहेका छन् । कैलालीको कैलारी गाउँपालिकाकी पवित्री चौधरी अहिले पनि निजी अस्पतालमा गएर उपचार गराउनुपर्ने बाध्यता उस्तै रहेको बताउँछिन् ।
‘सरकारले कार्यक्रम गर्छ, चिनजानका मान्छेको मात्र त्यस्ता कार्यक्रममा पहुँच भएकाहरुले उनीहरुले मात्रै सेवा पाउँछन्, हामीले त खासै केही पाउँदैनौँ,’ उनले भनिन् ।

