40.8 C
Dhangadhi
Tuesday, April 21, 2026

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ८ जना घाइते

पढनै पर्ने

कञ्चनपुर जिल्ला कारागारमा शुक्रबार दिउँसो कैदीबन्दीहरूबीच झडप भएको छ। कारागार प्रशासनले उपलब्ध गराउने सेवा–सुविधा र व्यवहारमा विभेद भएको भन्दै सुरु भएको विवाद झडपमा परिणत भएको हो।
झडपमा परी ८ जना कैदीबन्दी घाइते भएका छन्। उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
कैदीबन्दीहरूका अनुसार कारागार प्रशासनले सबैलाई समान व्यवहार नगरेको र सेवा–सुविधा वितरणमा पक्षपात गरेको भन्दै असन्तुष्टि बढेको थियो। विशेष गरी चौकीदार र अन्य कैदीबन्दीबीच खानाको विषयलाई लिएर भनाभन भएपछि झडपको स्थिति सिर्जना भएको थियो। घटनामा ८ जना जति कैदीबन्दी सामान्य घाइते भएको बताइए पनि ४ जनालाई अस्पतालै लैजानु परेको थियो।
कारागार ऐनअनुसार कारागारभित्र असल आचरण र व्यवहार भएका कैदीलाई ’चौकीदार’ वा ’नाइके’ को जिम्मेवारी दिने व्यवस्था छ। उनीहरूलाई कारागारको आन्तरिक व्यवस्थापनका लागि ’कमान्डर’ का रूपमा तोकिन्छ। चौकीदारले कैदीबन्दीका समस्या र कारागारको अवस्थाबारे कारगार प्रशासनलाई जानकारी दिने र समन्वय गर्ने काम गर्छन्। तर, तिनै चौकीदार र अन्य कैदीबन्दीबीच समन्वय अभाव र सुविधाको कुरामा विवाद हुँदा शुक्रबारको घटना घटेको बुझिएको छ।
झडपपछि कारागारमा सुरक्षा व्यवस्था कडा पारिएको छ। डिएसपी बोहराका अनुसार अहिले कारागारभित्रको अवस्था शान्त भइसकेको छ। प्रशासनले कैदीबन्दीका गुनासाहरू सुन्ने र समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार