नेकपा एमालेको ११ औँ महाअधिवेसनमा सचिव पदमा कर्ण थापाको पराजय र लेखराज भट्टको विजयपछि एमालेका कतिपय नेता र कार्यकर्ताहरूले प्रश्न गर्न थालेका छन्।
लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका कर्णबहादुर थापा यसअघि पार्टीको १०औं महाधिवेशनमा पनि सचिव पदमा उम्मेदवार बनेर पराजित भएका थिए। यसपटक पनि सचिव पदमै उम्मेदवारी दिएका उनी पुनः पराजित हुन पुगे। यद्यपि उनी केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन्।
पार्टी संगठनमा खटिएका थापाको पराजय भएको छ भने अर्कोतिर पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेता लेखराज भट्ट विजयी भएका छन्। नेकपा विभाजनका बेला एमालेमा समाहित भएका भट्टले नेतृत्वमा स्थान बनाउँदा सुरुदेखि एमालेमै रहेका थापा पछि परेको विषयलाई कार्यकर्ताले स्वभाविक रूपमा लिन सकेका छैनन्।
नतिजा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल र अनौपचारिक छलफलमा कार्यकर्ताहरूले प्रतिनिधिहरूको चयन शैलीमाथि प्रश्न उठाएका छन्। एक असन्तुष्ट कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमाले बनाउन कर्णबहादुर थापाको त्याग, तपस्या र योगदान बढी होला कि लेखराज भट्टको? मैले त कुरै बुझिनँ। कि त एमालेमा विवेक प्रयोग गर्ने प्रतिनिधिको कमी हो?’
पार्टीभित्रको आन्तरिक समीकरण मिलाउने नाममा पुराना र योगदान गरेका नेताहरूलाई पछाडि पारिएको गुनासो तल्लो तहका कार्यकर्तामा देखिएको छ। थापाजस्ता नेताको लगातारको हारले पार्टीमा ‘योगदान’ भन्दा ‘गुटगत समीकरण’ हावी भएको टिप्पणी हुन थालेको छ।
पुराना नेता पराजित हुनु र पछिल्लो समय पार्टीमा आएका नेताले अवसर पाउनुले कार्यकर्ताको मनोबलमा असर पर्न सक्ने आँकलन गरिएको छ।
सुदूरपश्चिम एमालेः कर्ण थापाको हार र लेखराजको जितमा कतिपय कार्यकर्ताको प्रश्न– ‘त्याग ठूलो कि समीकरणर?’

