धनगढीमा केही दिनयता बाक्लो कुहिरो र शीतलहरसँगै चिसो ह्वात्तै बढेको छ। लगातारको चिसो र घाम नलाग्दा यहाँको जनजीवन प्रभावित भएको छ।
अत्यधिक जाडो बढेपछि स्थानीयहरूले चोक–चोकमा मुडा बालेर शरीर न्यानो बनाउने प्रयास गरिरहेका छन्। धनगढीका मुख्य बजार तथा गल्लीहरूमा सर्वसाधारणहरू भेला भएर आगो तापिरहेका दृश्यहरू देख्न सकिन्छ।
विशेषगरी बजारका पसले, व्यापारी तथा दैनिक मजदुरी गर्ने वर्गलाई चिसोले बढी सताएको छ। लामो समयदेखि घामको मुख देख्न नपाएपछि उनीहरू कामको बीचमै आगोको सहारा लिन बाध्य भएका हुन्। चिसो छल्न ठाउँ–ठाउँमा सामूहिक रूपमा आगो बालिएको छ। उपमहानगरपालिकाले आगो ताप्न ठाउँ ठाउँमा मुडा राखेको छ।




