34.8 C
Dhangadhi
Monday, June 15, 2026

एमाले छोडेर रास्वपामा गएका गोकर्ण भन्छन्–टिकटको बार्गेनिङ गरेर आएको होइन, सुदूरपश्चिममा रास्वपालाई पहिलो पार्टी बनाउनेछु’

पढनै पर्ने

नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्टले आफ्नो ४६ बर्से लामो राजनीतिक यात्राको मोड बदल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यबाट गत कात्तिक १४ गते राजीनामा दिएका भट्टले पुस ६ गते औपचारिक रूपमा रास्वपाको घन्टी बोकेका हुन्।
रास्वपा प्रवेशसँगै सुदूरपश्चिमको राजनीतिमा नयाँ तरंग ल्याएका भट्टले तत्काल पद वा टिकटको लोभमा पार्टी परिवर्तन नगरेको स्पष्ट पारेका छन्। उनले सुदूरपश्चिममा रास्वपाको संगठन विस्तार गर्दै आगामी निर्वाचनमा प्रदेशकै पहिलो पार्टी बनाउने उद्घोष गरेका छन्।
रास्वपा प्रवेश लगत्तै कैलाली क्षेत्र नं. ४ को आगामी चुनावमा उम्मेदवार बन्ने चर्चा चले पनि भट्टले यसलाई पार्टीको आन्तरिक विधिमा छोडिदिएका छन्।
‘मैले चुनाव लड्ने भनेर पार्टी प्रवेश गरेको होइन, र कुनै सर्त पनि राखेको छैन,’ भट्टले भने‘रास्वपाभित्र उम्मेदवार बन्नका लागि आन्तरिक मतदान (प्राइमरी) हुन्छ। जसले बढी मत ल्याउँछ, उही उम्मेदवार बन्छ। मैले टिकटको लागि बार्गेनिङ गरेको छैन, तर मेरो क्षमता र योग्यता पार्टीले बुझ्नेछ।’, उनले रातोपाटीलाई भने।
आफू ४६ वर्षदेखि कम्युनिस्ट आन्दोलन र राजनीतिमा सक्रिय रहेको बताउँदै उनले सांसद बन्ने क्षमता आफूसँग रहेको तर अहिले नै व्यक्तिगत आकांक्षा भने नराखेको बताए।
एमालेका नेता तथा आफ्नै दाइ लेखराज भट्टसँग चुनावमा प्रतिस्पर्धा हुने चर्चाबारे गोकर्ण भट्टले यसलाई स्वाभाविक हल्लाको संज्ञा दिए।
‘मैले एमाले छोडेपछि मान्छेहरूले यस्तो अनुमान लगाउनु स्वाभाविक हो,’ उनले भने, ‘मेरो राजनीतिक पृष्ठभूमि आफ्नै छ। म कसैको भाइ भएकै कारण मात्र चिनिएको होइन। यदि पार्टीले जिम्मेवारी दियो र परिस्थिति बन्यो भने म पछि हट्दिनँ, तर कसैलाई हराउनकै लागि मात्र म उम्मेदवार बन्ने होइन।’उनले भने।
लामो समय पुराना राजनीतिक दलमा बिताएका भट्टले पुराना दलहरूप्रति जनताको चरम निराशा देखेर नै रास्वपा रोजेको बताए।
‘एमाले परित्याग गर्दा म स्वतन्त्र नागरिक भएर बस्छु भन्ने सोचेको थिएँ,’ उनले भने,‘तर समाजका समस्याहरू र जनताको निराशा देख्दा एउटा स्वतन्त्र व्यक्तिले मात्र केही गर्न नसक्ने महसुस भयो। अहिले देशमा आशाको केन्द्र भनेको रास्वपा नै हो। रवि लामिछानेको नेतृत्व र निर्णय क्षमताले देशलाई निकास दिन्छ भन्ने विश्वासले म यहाँ आएको हुँ।’
सुदूरपश्चिममा रास्वपाको सांगठनिक संरचना कमजोर रहेको स्वीकार्दै भट्टले जनलहर भने व्यापक रहेको दाबी गरे।
‘अहिले हामीसँग सबै वडामा कमिटी छैनन्, तर जनता आफैं फोन गरेर पार्टीमा जोडिन खोजिरहेका छन्,’ भट्टले भने ‘हामी भ्याइरहेका छैनौं। अबको मेरो मिसन भनेकै गाउँ–गाउँ पुगेर संगठन बनाउने हो। आउँदो २०८४ को निर्वाचनमा सुदूरपश्चिमबाट रास्वपालाई पहिलो पार्टी बनाएर देखाइदिन्छौं।’
अहिले पार्टीले आफूलाई कुनै ठोस जिम्मेवारी नदिए पनि आफू साधारण सदस्यकै रूपमा काम गर्न तयार रहेको उनले बताए। बालेन शाह र रास्वपाबीचको पछिल्लो सहकार्यले पनि जनतामा थप उत्साह थपेको उनको बुझाइ छ।
गोकर्ण भट्ट माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय भएका नेता हुन्। उनी २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका थिए तर दुवै पटक पराजित भए। पछिल्लो समय एमालेभित्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेका थिए।
‘म हतारमा छैन। धैर्य गर्छु। पार्टीले एक दिन मेरो मूल्यांकन गरेर जिम्मेवारी दिनेछ। अहिलेको आवश्यकता पद होइन, संगठन र परिवर्तन हो।’, उनले भने।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार