नेपाल कम्युनिस्ट पार्टी डोटीले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री एवं जिल्ला इन्चार्ज त्रिलोचन भट्टको नेतृत्वमा बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको हो।
पार्टीले राष्ट्रियसभा सदस्यका लागि नेता भरत बहादुर बोहरा (योगेन्द्र) को नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको छ। विगत ३२ वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय बोहरा जनयुद्धकालका कुशल कमान्डर तथा पार्टीका इमान्दार संगठकका रूपमा चिनिन्छन्। हाल पार्टीको प्रदेश सचिवालय सदस्य रहेका बोहराले लामो राजनीतिक जीवनमा कुनै पनि लाभको पद लिएका छैनन्। यसअघि २०७४ को स्थानीय निर्वाचनमा आदर्श गाउँपालिका अध्यक्षमा थोरै मतान्तरले पराजित उनी पटक–पटक प्रदेशसभाका लागि सिफारिस भए पनि अवसरबाट वञ्चित थिए। यसपटक उनलाई एकल सिफारिस गरिएको छ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टसहित ८ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा संविधानसभा सदस्य हर्क बहादुर सिंह, जङ्ग विक, अञ्जिता श्रेष्ठ, सिद्धाराज विक, वीर बहादुर थापा, धन बहादुर विष्ट र प्रकाश जोशी रहेका छन्।
पार्टीले उम्मेदवार छनोट गर्दा जातीय तथा वर्गीय समावेशितालाई विशेष ध्यान दिएको जनाएको छ। जसअनुसार खस आर्यबाट त्रिलोचन भट्ट र हर्क बहादुर सिंह, दलित समुदायबाट जङ्ग विक र सिद्धाराज विक तथा महिला÷जनजातिबाट अञ्जिता श्रेष्ठ समेटिएका छन्। यस्तै, युवा प्रतिनिधित्वका लागि धन बहादुर विष्ट तथा ‘नवयुवा’ समूहबाट अखिल (क्रान्तिकारी) का सुदूरपश्चिम अध्यक्ष वीर बहादुर थापा र वाइसीएल डोटी इन्चार्ज प्रकाश जोशीको नाम सिफारिसमा परेको छ।
यसैगरी, समानुपातिक प्रणालीतर्फ गोरख बहादुर सार्की, कृष्ण दर्लामी, पूर्वमन्त्री पूर्णा जोशी, श्रीचन्द्र श्रेष्ठ, सिता रायमाझी, दिल बहादुर कठायत, डम्बर घर्ती, नन्दलाल विक, डबल ताम्राकार र लक्ष्मण नाथ योगीको नाम केन्द्रमा पठाइएको छ।
राष्ट्रियसभामा भरत बोहरा एकल, प्रतिनिधिसभामा भट्टसहित ८ जना सिफारिस

