धनगढीःजेन जी आन्दोलनका क्रममा जलाईएको सुदूरपश्चिम प्रदेश सभाको पुरानो भवनको मर्मतको काम तिब्र रुपमा चलिरहेको छ ।
प्रदेश सरकारले आगामी प्रदेश सभा पुरानै भवनमा बसाउने गरी तिब्र रुपमा मर्मतको काम चलाएको हो । आन्दोलनका कारण प्रदेश सभा सचिवालयमा क्षति पुगेपछि प्रदेश सभाको बैठक बस्न सकेको छैन । प्रदेश सभाको सचिवालयका अनुसार प्रदेश सभाको भवन उपयोग गर्न सकिने प्राविधिकहरुले सुझाएपछि सचिवालयलाई मर्मत गर्ने कार्य भइरहेको छ । क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन नभएको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको सचिवालयले जनाएको छ।
आगलागीबाट कुरुप बनेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयको मर्मत र सरसफाईको काम भईरहेको छ । गेट मर्मत हुनुका साथै बैठक भवनभित्र नष्ट भएका फर्निचरहरु एक ठाउँ राखिएका छन भने आगलागिबाट क्षति नभएका कुर्सी टेबललाई सुरक्षित राखिएको छ । अहिले उपकरण तथा फर्निचरको व्यवस्थापनका लागि संघ–संस्था र प्रदेश सरकारसँग छलफल गरिरहेको सचिवालयले जनाएको छ ।
मर्मत सम्भार गरी प्रदेश सभा बैठक भवनलाई पुरानै अवस्थामा ल्याउने तयारीमा जुटेको सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । प्रदेशसभाको बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप लगायत सम्पूर्ण सामान जलेर नष्ट भएकाले त्यसको व्यवस्थापनपछि मात्रै बैठकका लागि वातावरण बन्ने सचिवालयका सचिव बोगटीले बताए ।
प्रदर्शनका क्रममा प्रदेशसभा सचिवालय, विषयगत समितिका कार्यालय, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयमा पनि आगजनी गरिएको थियो । सचिवालयका अनुसार प्रदेश सभाका छ वटा चार पाङ्ग्रे गाडी र पाँच वटा मोटरसाइकल आगजनीबाट नष्ट भएका छन् । करिब १२ करोड रुपैयाँको भौतिक क्षति भएको छ । प्रदेशसभा बैठक कक्षको मर्मत तथा आवश्यक सामान व्यवस्थापनका लागि मात्रै कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

