40.8 C
Dhangadhi
Tuesday, April 21, 2026

सुदूरपश्चिममा एमालेको टिकट वितरण लथालिङ्ग : शनिबार एउटा, आइतबार अर्कै

पढनै पर्ने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको टिकट बाँडफाँटको विषयले सुदूरपश्चिममा नेकपा एमाले तरंगित भएको छ ।  

प्रदेशमा उम्मेदवारको टुंगो लगाएको सूची शनिबार सार्वजनिक भएको थियो । आइतबार फेरि ‘दुई ठाउँमा टिकट अर्कैले पायो’ भन्ने चर्चा छ । बझाङ र कञ्चनपुर–१ मा एमालेको आधिकारिक उम्मेदवार को हो भन्ने विषय अझै यकिन भएको छैन, सबैले आ–आफूले टिकट पाएको दाबी गरिरहेका छन् । 

शनिबार एमालेले सुदूरपश्चिमका १६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको विवरण बाहिरियो । उक्त विवरणअनुसार बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहराले टिकट पाएका थिए । आइतबार बझाङमा शनिबार टिकट पाए भनिएका अफिलाल ओखेडाको नाम काटेर युवा नेता ऐन महरलाई टिकट दिइएको दाबी बाहिरियो । उता कञ्चनपुर–१ मा एक मात्र महिला उम्मेदवारका रूपमा अघि सारिएकी कमला बोहराको ठाउँमा तारा लामा तामाङले टिकट पाएको खबर आएको हो । 

जब एमालेले सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट खोस्यो

‘शनिबार पनि मलाई नै टिकट दिने निर्णय भएको थियो, बिचमा कसरी अर्को विवरण आयो थाहा भएन । आज फेरि सोही निर्णय कार्यान्वयन भएको छ । मलाई टिकट दिने पक्का भएको छ,’ यस विषयमा रातोपाटीसँग कुरा गर्दै युवा नेता ऐन महरले भने । 

उता कञ्चनपुर–१ का तामाङले पनि उस्तै दाबी गरे । ‘बझाङ र मेरो क्षेत्रमा परिवर्तन भयो । हामीले टिकट पायौँ,’ तामाङले रातोपाटीलाई भने । 

उनीहरूले यो दाबी गरिरहँदा शनिबारको सूचीमा नाम भएका अफिलाल ओखेडा भने मान्न तयार छैनन् । उनले भर्खरै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सचिवालय बैठकले टिकट टुंगो लगाएको हो । आज मेरो सहमतिबिना नाम बदलिएको खबर आएको छ । यस्तो गम्भीर गल्ती एमालेजस्तो पार्टीले गर्न सक्दैन । मेरो टिकट खोसियो भनेर छरिएको भ्रममा नपर्न आग्रह गर्दछु ।’ 

उनले यदि साँच्चै टिकट खोसिएको हो भने त्यो निर्णय असान्दर्भिक र अप्रासंगिक हुने भन्दै त्यसले व्यक्तिगत र पार्टीलाई ठुलो क्षति पुग्ने चेतावनीसमेत दिएका छन् । एमालेले सुदूरपश्चिमका १६ सिटमा शनिबार सार्वजनिक गरेको सूचीमा कमला बोहरा एक्ली महिला उम्मेदवार थिइन् । एमालेको ११औँ महाधिवेशनबाट ४० वर्षमुनिको युवा कोटाबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्य जितेकी बोहरा विद्यार्थी राजनीतिबाट खारिएकी नेतृ हुन् । 

तर २४ घण्टा नबित्दै उनको टिकट खोसेर तामाङलाई दिइएको खबरले एमालेभित्रको महिला पंक्ति आक्रोशित बनेको छ । 

‘सुदूरपश्चिमका १६ क्षेत्रमध्ये एउटामा पनि महिला नअटाउने ? भएको एउटा टिकट पनि खोस्ने ?’ एमालेकी एक नेताले आक्रोश पोख्दै भनिन्, ‘महिला मतदाता पुरुषभन्दा बढी छन्, तर पार्टीले बनाएको एउटी महिला उम्मेदवारको समेत टिकट खोसिनु अत्यन्तै गलत र विभेदकारी कदम हो ।’ 

कमला बोहरा स्वयंले पनि आफूलाई हटाए परिणाम राम्रो नहुने चेतावनी दिएकी छन् । पार्टीले समावेशिताको रटान लगाउने तर व्यवहारमा भने भएका महिलालाई पनि पाखा लगाउने प्रवृत्ति देखिएको भन्दै कञ्चनपुरमा असन्तुष्टिको आगो सल्किएको छ । 

यो अन्योलग्रस्त स्थिति बझाङ र कञ्चनपुर–१ मा मात्र सीमित छैन । समग्र सुदूरपश्चिममा एमालेको टिकट वितरण प्रक्रियालाई लिएर कार्यकर्तामा चरम निराशा छाएको छ । नेतृत्वले जित्नेभन्दा पनि आफ्नो मान्छे रोज्ने नीति लिएको आरोप लागेको छ । 

यहाँ उम्मेदवार छनोटका लागि जिल्ला कमिटीले पूर्ण लोकतान्त्रिक अभ्यास गरेको थियो । धेरै आकांक्षी भएपछि आन्तरिक चुनाव नै गराइयो । भोटिङमा अशोककुमार चन्दले सर्वाधिक ६१ मत पाए । पूर्वसांसद नरबहादुर धामी ५७ मतसहित दोस्रो भए, तर आन्तरिक चुनावमा ५० मत ल्याएर तेस्रो भएका वचनबहादुर सिंहले टिकट पाए । 

पहिलो र दोस्रो हुनेलाई पाखा लगाएर तेस्रो हुनेलाई टिकट थमाइएपछि त्यहाँका स्थानीय नेता प्रश्न गर्छन्, ‘कार्यकर्ताको मतको कदर नहुने भए किन त्यो नाटक मञ्चन गरियो ?’ अशोक चन्द, जसले २०७४ मा बेदकोटको मेयर बनेका थिए र नरबहादुर धामी, जसले संसदीय चुनाव जितेका थिए, उनीहरूलाई पन्छाउनुको औचित्य पुष्टि गर्न नेतृत्वलाई सकस परेको छ । 

कैलाली क्षेत्र नं ५ को निर्णयलाई लिएर पनि धेरैले असन्तुष्टि जनाएका छन्, यहाँ एमालेका बलिया खम्बा मानिने नारदमुनि रानाको टिकट काटिएको छ । राना तिनै नेता हुन्, जसले ०७४ सालको वाम गठबन्धन नहुँदा पनि कांग्रेसकी ‘हेभीवेट’ आरजु राणा देउवालाई हराएर इतिहास रचेका थिए । ०७९ मा पाँच दलीय गठबन्धनबिच पनि उनी मात्र एक हजार मतले पराजित भएका थिए । रानाथारू समुदायको करिब ४० प्रतिशत भोट रहेको यो क्षेत्रमा नारदमुनि निर्विकल्पजस्तै मानिन्थे । 

तर पार्टीले उनलाई पन्छाएर यज्ञराज ढुंगानालाई टिकट दियो । ढुंगाना बजार क्षेत्रमा परिचित भए पनि ग्रामीण भेग र विशेषगरी रानाथारू बस्तीमा उनको पकड कमजोर मानिन्छ । ‘गाउँका मतदाताले राम्ररी नचिनेका पात्रलाई अघि सार्दा एमालेले आफ्नो कोर भोट बैंक गुमाउने जोखिम बढेको छ,’ एमाले कैलालीका एक नेताले भने, ‘पहुँचका आधारमा टिकट त पाइयो, तर जनताको मन नजिती चुनाव जित्न सकिन्न ।’ 

बझाङमा ऐन महरले टिकट पाउने चर्चा र दाबीका पछाडि अघिल्लो निर्वाचनको गणित पनि जोडिएको छ । ०७९ को निर्वाचनमा महर सुदूरपश्चिम प्रदेशभरिमै सबैभन्दा कम मतान्तर (९९८ मत) ले पराजित भएका थिए । एकीकृत नेकपा समाजवादीका भानुभक्त जोशीसँग झिनो मतले हारेका महरको युवा पुस्तामा क्रेज छ । 

जिल्ला कमिटीले पनि महरलाई नै पहिलो नम्बरमा सिफारिस गरेको थियो । तर शनिबारको सूचीमा प्रदेश सभामा पराजित भइसकेका अफिलाल ओखेडाको नाम आएपछि जिल्ला कमिटी नै झस्किएको थियो । ओखेडा यसअघि बझाङ प्रदेश सभा (२) मा कांग्रेसका पृथ्वीबहादुर सिंहसँग ३ हजार ६ सय ७९ मतले पराजित भएका थिए । 

जिल्लाले जित्ने भनेर पठाएको नाम काटेर हारेका व्यक्तिलाई टिकट दिँदा नतिजा गुम्ने डरले नेताहरूले अध्यक्ष ओलीलाई रिपोर्टिङ गरेपछि आइतबार महरको नाम अघि आएको बुझिएको छ । तर आधिकारिक पत्र कसको हातमा पर्छ, त्यो अझै यकिन छैन । 

अहिले टिकट कसले पायो भन्ने यकिन गर्न पार्टीको आधिकारिक धारणा नै आएको छैन । शीर्ष नेताहरूलाई सोध्दा थाहा छैन भन्ने जवाफ फर्काइरहेका छन् । एमालेले कुनै आधिकारिक सूचना जारी गरेको छैन ।
अहिलेलाई भने बझाङका अफिलाल वा महर र कञ्चनपुरकी बोहरा वा तामाङ, कसको भाग्य चम्कियो र कसको खुसी खोसियो ? त्यसको जवाफ केन्द्रमै छ । 

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार