41.5 C
Dhangadhi
Wednesday, June 17, 2026

भीम रावलको ‘कमब्याक’ले तरङ्गित सुदूरपश्चिम, कस्तो पार्ला प्रभाव ?

पढनै पर्ने

धनगढी । नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा सुदूरपश्चिमका एक प्रभावशाली वामपन्थी नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा सामेल भएसँगै सुदूरपश्चिमको राजनीतिमा तरङ्ग पैदा भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सैद्धान्तिक र राजनीतिक संघर्षपछि पार्टीबाटै कारबाहीमा परेका रावल ‘मातृभूमि जागरण अभियान’ नामक आफ्नै समूह हुँदै अन्ततः विभिन्न १० दल मिलेर बनेको नेकपामा समाहित भएका हुन् ।

रावलको यो कदमले एकातिर नवगठित नेकपाभित्र उत्साह सिर्जना गरेको छ भने अर्कोतिर एमाले प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । प्रतिस्पर्धी अर्को दल नेपाली कांग्रेसमा भने नयाँ रणनीतिको खोजी सुरु भएको छ ।

Laxmi sunrise bank

रावलको पछिल्लो कदमलाई कसैले ‘ठुलो तरङ्ग’ मानेका छन् भने कसैले ‘पहिल्यै अनुमान गरिएको सामान्य हलचल’ मात्रै भनेका छन् ।

Shivam Cement

भीम रावलको आगमनले सबैभन्दा ठुलो ऊर्जा र उत्साह नेकपाभित्र देखिएको छ । सो पार्टीका नेताहरू यसलाई सुदूरपश्चिममा पार्टीलाई प्रमुख शक्ति बनाउने एक ‘टर्निङ प्वाइन्ट’ को रूपमा हेरिरहेका छन् । नेकपाका नेता जनक बुढाका अनुसार रावलको प्रवेश सामान्य नभएर सुदूरपश्चिमको कम्युनिस्ट आन्दोलनका लागि एक ऐतिहासिक क्षण हो ।

janak budha

‘भीम रावल सुदूरपश्चिमको कम्युनिस्ट आन्दोलनको एक संस्थापक नेता हुनुहुन्छ,’ बुढाले भने, ‘उहाँको राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्वले पार्टीलाई थप उचाइमा पुर्‍याउनेछ । उहाँको आगमनले सिङ्गो सुदूरपश्चिमभित्रका कार्यकर्ताहरूमा एउटा ठुलो उत्साह छाएको छ । उहाँमा सिङ्गो कम्युनिस्ट आन्दोलनकै नेतृत्व गर्ने क्षमता छ ।’

नवगठित नेकपा अब रावलजस्ता प्रभावशाली नेताको आगमनसँगै सुदूरपश्चिममा मुख्य र बलियो शक्तिको रूपमा स्थापित हुने बुढाको दाबी छ । ‘अब सुदूरपश्चिममा हाम्रो पार्टी एउटा मुख्य र बलियो शक्तिको रूपमा अगाडि आउँछ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।

यो उत्साह प्रदेशका शीर्ष नेताहरूमा मात्र सीमित छैन । रावललाई आफ्नो राजनीतिक आदर्श मान्दै एमाले परित्याग गरेका उनका गृह जिल्ला अछामका कार्यकर्ताहरूमा यो निर्णयले नयाँ आशा जगाएको छ ।

रावलसँगै ‘मातृभूमि जागरण अभियान’ हुँदै नेकपामा समाहित भएका पुराना कार्यकर्ता जंग विकका लागि यो निर्णय स्वागतयोग्य र आवश्यक थियो । ‘हामीले आशा र भरोसाको केन्द्र मानेको नेता, जसले सुदूरपश्चिमको विकट जिल्लाबाट एउटा व्यक्तित्व बनाउनुभयो– उहाँलाई नै पार्टीले विभिन्न आरोप लगाएर निष्कासन गरेपछि हामी पनि एमालेमा रहन सकेनौँ,’ विकले सुनाए ।

jang bk

जुन बेला मान्छेले बोल्न र आफ्नो अधिकार राख्न पाउँदैनथे, त्यो बेला भीम रावलले सामाजिक न्यायका मुद्दामा आवाज उठाएको विक बताउँछन् । उनले भने, ‘त्यस्तो नेतालाई एमालेले अन्याय गर्‍यो ।’

रावलको पुनरागमनलाई उनीहरूले न्यायको रूपमा लिएका छन् । ‘आज प्रचण्ड र माधवकुमार नेपालजस्ता नेताहरूले आह्वान गरेर एउटा नयाँ र बृहत् कम्युनिस्ट पार्टीमा जिम्मेवारी दिन खोज्नु स्वागतयोग्य छ । हामी अत्यन्तै खुसी छौँ,’ विकले भने ।

उनीहरूलाई रावलले पुरानै ऊर्जाका साथ नेतृत्व दिन सक्ने विश्वास छ । विकले भने, ‘उहाँ हेर्दा ७० वर्षको भए पनि उहाँमा ३०–३५ वर्षको युवाको जस्तो जोस र जाँगर छ । उहाँले पुरानैजस्तो नेतृत्व दिन सक्नुहुन्छ भन्नेमा हामी पूर्ण विश्वस्त र आशावादी छौँ ।’

रावलजस्तो राष्ट्रिय छवि भएको, निष्ठावान र भ्रष्टाचारमा कहिल्यै नाम नमुछिएको नेताको नेतृत्वमा अब सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टीको भविष्य बलियो र सुन्दर रहेको विकको भनाइ छ ।

एकातिर नयाँ एकीकृत नेकपामा उत्साहको लहर छ भने अर्काेतिर भीम रावलको पुरानो पार्टी नेकपा एमाले भने रक्षात्मक देखिन्छ । पार्टीको प्रदेश नेतृत्वले रावलको वहिर्गमनले पार्टीलाई कुनै नयाँ क्षति नहुने दाबी गरिरहेको छ, तर स्थानीयस्तरका केही नेता भने यसबाट पक्कै असर पर्ने स्विकार्छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दचाहिँ रावलको वहिर्गमनलाई ‘पुरानै घटना’ को संज्ञा दिन्छन् । उनले भने, ‘रावलले पार्टीलाई पुर्‍याउनुपर्ने क्षति पहिले नै पुर्‍याइसकेको अवस्था हो । उहाँले अहिले पार्टी छोड्नुभएको होइन, उहाँ पहिले नै पार्टीबाट बिदा भइसक्नुभएको थियो । अघिल्लो निर्वाचनमा पनि उहाँको सक्रिय भूमिका थिएन ।’

रावलको वहिर्गमनबाट एमालेलाई जति प्रभाव पर्नुपर्ने हो, त्यो अघिल्लो निर्वाचनमै परिसकेको हुनाले अब हुने निर्वाचनमा यसको कुनै असर नपर्ने चन्दको दाबी छ ।

rana chand

रावलका समर्थक कार्यकर्ताहरू पनि उनले ‘मातृभूमि जागरण अभियान’ चलाउँदै गर्दा नै एमालेबाट बाहिरिइसकेकाले अब एमालेबाट कोही नजाने उनले प्रस्ट पारे । तर, एमालेभित्र चन्दको जस्तो मतमात्रै छैन । रावलको बहिर्गमनले पार्टीलाई अवश्य असर गर्ने बाजुराका जिल्ला कमिटी सदस्य जंग विक बताउँछन् ।

उनको बुझाइमा रावल आफैँले पार्टी छोडेका होइनन्, बरु पार्टी नेतृत्वले उनलाई ‘लखेटेको’ हो । ‘भीम रावल जत्तिको राष्ट्रवादी नेताले एमालेमा ठाउँ नपाएपछि र एमालेले उहाँलाई लखेट्ने काम गरेपछि त्यसको असर त स्वाभाविक रूपमा परिहाल्छ,’ उनले भने ।

वामपन्थी कित्तामा भइरहेको यो उथलपुथललाई प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसले पनि नजिकबाट नियालिरहेको छ । कांग्रेस नेताहरू कम्युनिस्ट एकतालाई सिद्धान्तभन्दा सत्ता स्वार्थ प्रेरित भन्दै टिप्पणी गर्छन् भने रावलको कदमलाई व्यक्तिगत पदलोलुपताको उपजको रूपमा व्याख्या गर्छन् ।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनार कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउनुलाई राजनीतिक स्थिरताका लागि सकारात्मक मान्न सकिए पनि त्यसको नियतमाथि प्रश्न उठाउँछन् ।

nirpa sunar

‘दलहरू एकीकृत हुनु राम्रो पक्ष हो,’ सुनारले भने, ‘तर, यो एकता फेरि सत्ताका लागिमात्रै हो वा सत्ताको कुर्सी वरिपरि घुम्नका लागि हो भन्ने अवधारणाबाट प्रेरित भए त्यो दुर्भाग्यपूर्ण हुन्छ ।’

उनले वाम एकताले कांग्रेसलाई खासै घाटा नपर्ने तर्क गरे । ‘हामी हाम्रो आफ्नो आदर्श र सिद्धान्तमा अडिग छौँ । उहाँहरूको एकीकरणले हामीलाई धेरै घाटा, नोक्सान पुर्‍याउँदैन,’ उनले भने ।

नेता रावलको नेकपा प्रवेशलाई सुनारले उनको ‘पदीय लोभ’ को परिणामको रूपमा चित्रण गरे । ‘उहाँ लामो समय एमालेमा रहेर काम गर्नुभयो तर पछि आफ्नो पदीय लोभका कारण प्रतिस्पर्धामा हार्नुभयो । हारिसकेपछि फेरि अर्काे पटकको तयारीका लागि आफूलाई तयार गर्नुको सट्टा असहमति राखेर बस्नुभयो,’ सुनारले भने ।

नेता, कार्यकर्ता र प्रतिस्पर्धीका आ–आफ्नै दाबी र विश्लेषणबिच सुदूरपश्चिमको राजनीतिलाई नजिकबाट नियालिरहेका पत्रकार तथा विश्लेषक अर्जुन शाह यो घटनालाई भीम रावलको राजनीतिक ‘कमब्याक’ को संज्ञा दिन्छन् । उनका अनुसार, यो कदमले प्रदेशको वाम राजनीतिमा नयाँ ‘भाइब्रेसन’ पैदा गरेको छ ।

arjun shah

शाहको विश्लेषणमा रावलले एमालेको संगठनात्मक शक्ति गुमाए पनि उनको व्यक्तिगत प्रभाव र अडानसहितको छविका कारण सुदूरपश्चिमको राजनीतिक समीकरणमा दीर्घकालीन असर पार्नेछ । ‘प्रभाव दुई किसिमको हुन्छ– व्यक्तित्वको र संगठनको,’ शाहले भने, ‘एमालेको संगठनको प्रभाव अब उहाँसँग रहेन, तर उहाँको व्यक्तित्वको प्रभाव, जुन आफ्नो एजेन्डामा अडिग रहने र देशभक्तिको छवि छ, त्यो कत्ति पनि तल झरेको छैन ।’

उनले सुदूरपश्चिमको मनोविज्ञानलाई शेरबहादुर देउवाको उदाहरणसँग जोड्दै भने, ‘डडेल्धुराका जनताले हाम्रो जिल्लाको प्रधानमन्त्री भनेर देउवालाई चुनाव जिताएजस्तै रावलप्रति पनि सुदूरपश्चिममा एउटा मनोविज्ञान छ । एमालेभित्र त्यो स्तरको अर्काे नेता नभएको अवस्थामा रावलको पछिल्लो कदमले उहाँलाई सर्वस्वीकार्य बनाउन सक्छ ।’

यो कदमले रावलको व्यक्तिगत राजनीतिक भविष्यका लागि ‘पुनरागमन’ को ढोका खोलेको शाहको विश्लेषण छ । ‘पार्टीविहीन अवस्थामा रहनुभएका उहाँले एउटा ठूलो प्लेटफर्म पाउनुभएको छ, यो उहाँको आवश्यकता थियो,’ उनले भने ।

यसले सुदूरपश्चिमको वाम आन्दोलनमा पनि प्रभाव पार्ने देखिन्छ । शाहका अनुसार, एमालेभित्रकै नेतृत्व संकटले गर्दा रावलको आगमनले नयाँ बनेको पार्टीलाई फाइदा पुग्नेछ ।

यो घटनालाई ‘तरङ्ग’ भन्दा पनि रावलका लागि ‘सहज मार्ग’ र सुदूरपश्चिमको राजनीतिक प्रतिस्पर्धाका लागि एक ‘जबरजस्त प्रतिस्पर्धी’ को उदयको रूपमा हेर्नुपर्ने शाहको तर्क छ ।

‘यो कुनै तरङ्गभन्दा पनि छिन्नभिन्न अवस्थामा रहेका रावलका लागि सहज र आवश्यक कदम हो, तर यसले सुदूरपश्चिमको वाम राजनीतिलाई चलायमान र भाइब्रेन्ट बनाउँछ,’ उनले भने, ‘अब कांग्रेस र एमालेले रावललाई एक जबरजस्त प्रतिस्पर्धी मान्नुपर्छ ।’

शाहले एमालेलाई पर्ने क्षतिको आकलन गर्दै भने, ‘एमालेलाई त पहिले नै क्षति भइसकेको हो, प्रदेश र संघमा १६ सिटबाट २ सिटमा झर्‍यो । अब नबढ्नु पनि त क्षति नै हो नि । यो अवस्थामा रावलको पुनरागमनले एमालेलाई थप धक्का लाग्छ ।’

भीम रावलको नेपाली कम्युनिस्ट पार्टीमा पुनरागमनले सुदूरपश्चिमको राजनीतिलाई एक नयाँ मोडमा ल्याइदिएको धेरैको बुझाइ छ ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार