41.3 C
Dhangadhi
Thursday, April 23, 2026

‘तिक्तता बिर्सौँ, अब एकीकृत कांग्रेस भएर चुनावमा होमिनुको विकल्प छैन’

पढनै पर्ने

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि र पुर्व स्ववियु सभापति राजेन्द्र प्रताप बमले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गर्दै अब एकढिक्का भएर चुनावमा जानुपर्नेमा जोड दिएका छन्। पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक अवस्थाबारे धारणा राख्दै नेता बमले अब कांग्रेस एक नभई सुखै नभएको बताएका हुन्।
उनले पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानलाई अवमूल्यन गर्न नहुने भन्दै सबैलाई संयमित हुन आग्रह गरे। सुदूरपश्चिमले दशकौंको प्रतीक्षापछि देउवाजस्तो दूरदर्शी नेता पाएको स्मरण गराउँदै उनले भने, ‘हिजो उहाँकै विश्वास जितेर पद र प्रतिष्ठा कमाउनेहरूले आज उहाँ र उहाँको परिवारलाई तल्लो स्तरको गालीगलौज गर्नु कृतघ्नता हो। देउवाको ऐतिहासिक योगदान र त्यागलाई कसैले पनि बिर्सनु हुँदैन।’
उनले देउवालाई पनि अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरे। ‘देउवाज्यूले अब ठूलो छाती बनाएर फागुनमा हुने निर्वाचनमा सबैलाई एकताबद्ध गर्न आह्वान गर्नुपर्छ,’ बमले भने।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिकता दिएको विषय र देउवा पक्ष सर्वोच्च पुगेको सन्दर्भ कोट्याउँदै उनले अब कानुनी लडाइँभन्दा पनि ‘मनको लडाइँ’ जित्नुपर्ने बताए। गगन थापालाई बधाई दिँदै उनले जितसँगै गम्भीर चुनौती पनि थपिएको उल्लेख गरे।
‘अहिले कांग्रेसी–कांग्रेसीबीचको मनमुटाव र गालीगलौज चरम उत्कर्षमा छ,’ चिन्ता व्यक्त गर्दै उनले भने, ‘अब गगन थापाको काँधमा टुटेका मनहरू जोड्ने र गालीगलौजको राजनीतिलाई अन्त्य गर्दै पार्टीलाई भावनात्मक रूपमा एक बनाउने ठूलो जिम्मेवारी आएको छ।’
नेता बमले आपसी तिक्तता र गुटगत रिसइबी बिर्सेर ‘एकीकृत कांग्रेस’ निर्माणमा लाग्न सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गरे।
उनले भने, ‘बलियो कांग्रेसले मात्र देशको भविष्य उज्ज्वल बनाउन सक्छ। त्यसैले अब ‘जय नेपाल’ को मन्त्रले सबैलाई ब्युँझाउँदै, हिजोका तिता कुरा बिर्सेर एकीकृत कांग्रेसका रूपमा चुनावमा होमिनुको विकल्प छैन।’

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार