41 C
Dhangadhi
Monday, June 15, 2026

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि अछामकी वडा सदस्यले आत्महत्या गरेको आशंका, एक जना पक्राउ

पढनै पर्ने



अछामको ढकारी गाउँपालिका–४ बलाताकी वडा सदस्य ३५ वर्षीया मनिसा साउद मृत फेला परेकी छिन् । जेठ २९ गतेदेखि बेपत्ता भएकी साउदको शव जेठ ३१ गते साँझ स्थानीय पालेवन जंगलमा पलाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
सामाजिक अपमान र मानसिक तनावका कारण उनले आत्महत्याको बाटो रोजेको हुनसक्ने देखिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाको गम्भीरतालाई हेर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए।
यो घटना हुनुमा जेठ २७ गते रातिको घटनासँग जोडिएको छ । सो रात मनिसा साउदको घरमा गाउँकै एक पुरुष बसेको थाहा पाएपछि केही स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । सो क्रममा केही व्यक्तिहरूले उनीहरूको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल बनाएका थिए ।
भोलिपल्ट जेठ २८ गते बिहान जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि र गाउँका भद्रभलादमीहरूको बैठक बसेको थियो । उक्त छलफलमा प्रहरीमा उजुरी नगर्ने र भारतमा रहेका मनिसाका श्रीमान् नआउन्जेल दुवै पक्षको जिम्मेवारी वडा कार्यालयले लिने सहमति भएको थियो । छलफल सकिएलगत्तै सोही दिन बिहान ११ बजेतिर मनिसा घरबाट निस्केकी थिइन् ।
मनिसा घर नफर्केपछि वडा अध्यक्ष पहलवान थापाले जेठ ३० गते दिउँसो ४ बजेतिर प्रहरीलाई खबर गरेका थिए । खोजतलास गर्ने क्रममा घरभन्दा करिब ५ सय मिटर टाढा रहेको बलाताको जंगलमा उनी मृत फेला परेकी हुन् ।
घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैनमा राखिएको छ । मृतकका दुई छोरी र एक छोरा छन् । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा थिए। उनी घटनाको खबर पाएपछि आज साँझसम्म मंगलसैन पुग्दैछन् ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा सोही रात मनिसाको घरमा भेटिएका भनिएका ती पुरुषलाई नियन्त्रणमा लिएको छ । ‘ती व्यक्तिसँगको सम्बन्ध र त्यसपछि सिर्जना भएको सामाजिक परिस्थितिका कारण मनिसाले आत्महत्या गरेको हुनसक्ने देखिएको छ । हामीले ती पुरुषलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ,’ डिएसपी ओमप्रकाश खनालले भने।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने र मनिसालाई मानसिक रूपमा टर्चर दिने पक्षमाथि पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । श्रीमान् आएर जाहेरी दिएपछि आत्महत्या दुरुत्साहन वा अन्य उपयुक्त मुद्दामा अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।
‘सामाजिक रूपमा अपमानित हुने गरी भिडियो भाइरल बनाइएका कारण उनले यो कठोर निर्णय लिएको हुनसक्ने आशंका छ, घटना कसरी यहाँसम्म पुग्यो र यसमा कस–कसको भूमिका छ भन्नेबारे हामी गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ,’ डिएसपी खनालले भने।
सदरमुकाम मंगलसैनबाट गाडीमा ६ घण्टाको दूरीमा पर्छ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार