41 C
Dhangadhi
Monday, June 15, 2026

विवाहको खुसी साट्न नपाउँदै मोडमा ब्याक गर्ने क्रममा सडकबाट भिरमा खसेको जन्ती बोकेको बस

पढनै पर्ने

बिहीवार साँझको समय। बैतडीको पुर्चौडी नगरपालिका–७, भवनेमा विवाहको उल्लास सकिएर जन्तीको टोली बझाङ फर्कने तयारीमा थियो। दुलही अन्माएपछि बेहुला पक्षका आफन्त र गाउँलेहरू खुसी साट्दै बसमा चढे। गन्तव्य थियो– बझाङको बित्थडचिर। त्यो खुसी भने लामो समय टिक्न पाएन। यात्रा सुरु भएको केही समयमै खुसीको माहोल चिच्याहट र रुवाबासीमा परिणत भयो।
जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडी नगरपालिका–७ स्थित बडुगाउँको घुम्तीबाट करिब २०० मिटर तल खस्दा १३ जनाले ज्यान गुमाएका छन्। यो दुर्घटनाले बैतडीको पुर्चौडी र बझाङको बित्थडचिर दुवै गाउँलाई शोकमा डुबाएको छ। यति मात्रै पुरै सुदूरपश्चिम अहिले शोकमा छ।
प्रहरीका अनुसार दुर्घटना बिहीवार राति करिब साढे ७ देखि ८ बजेको बीचमा यो दुर्घटना भएको हो। साँझ परिसकेको र पहाडी बाटोको अप्ठ्यारो मोड भएकाले दुर्घटनाको खबर पाउन र उद्धार टोली पुग्न केही समय लाग्यो। जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपककुमार रायका अनुसार प्रहरीलाई खबर आउँदा रातको ८ बजिसकेको थियो।
खबर पाउनासाथ हाम्रो टोली स्थानीय चौकी, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोलीसहित घटनास्थल पुग्यो,‘ डीएसपी रायले भने, ‘रातको समय, भौगोलिक विकटता र भिरको बाटो भएकाले उद्धारमा निकै कठिनाइ भयो। हामीले टर्च बालेर स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गर्यौं।’
बस सडकबाट निकै तल खसेकाले घाइतेहरू भिरमा छरिएका थिए। प्रहरी र स्थानीयले रगतपिच्छे भएका घाइतेहरूलाई बोकेर सडकमा ल्याए। उद्धार गरिएको केही समयमै ६ जनाको घटनास्थलमै मृत्यु भयो भने अन्यको उपचारका क्रममा ज्यान गयो।
दुर्घटनास्थल बडुगाउँ मोड पहाडी बाटोको साँघुरो र घुम्ती परेको स्थान हो। प्रारम्भिक अनुसन्धानबाट बस मोडमा ब्याक गर्ने क्रममा सडकबाट तल खसेको देखिन्छ।
‘बाटो एकदमै साँघुरो छ। घुम्तीमा बस मोड्न नपुगेपछि चालकले ब्याक गरेर अगाडि बढाउन खोजेको देखिन्छ। त्यही ब्याक गर्ने क्रममा पछाडिको भाग भिरतिर गयो र बस नियन्त्रण गुमाएर तल खस्यो।’डिएसपी रायले भने।
दुर्घटनाको समयमा बसमा करिब ५० जना सवार थिए। बस पुरानो भए नभएको वा यान्त्रिक गडबडी थियो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ। चालकलाई सामान्य चोट लागेको छ र उनी प्रहरी नियन्त्रणमा छन्। मृतकहरू अधिकांश बेहुलाका नजिकका आफन्त हुन्।
दुर्घटनामा ज्यान गुमाउनेमा ४२ वर्षीय नरेन्द्रराज जोशी र ४१ वर्षीय विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। उनीहरू बेहुलाका काका हुन्। एउटै घरका दुई खम्बा ढलेपछि जोशी परिवारमा ठूलो बज्रपात परेको छ। नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक थिए भने विष्णुदत्त महादेव माध्यमिक विद्यालयका शिक्षक थिए।
उनीहरूका दाजुका छोरा (भतिज) ३५ वर्षीय वसन्तराज जोशीको पनि सोही दुर्घटनामा मृत्यु भएको छ। वसन्तराज कृषि प्राविधिक थिए। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचको वडा सचिवको जिम्मेवारी समेत सम्हालिरहेका थिए।
यस्तै, बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र उनका छोरा केशवराज भट्टको सोही दुर्घटनामा निधन भएको छ। बाबु–छोरा नै जन्ती गएका उनीहरूको शव एकैसाथ घर फर्किँदा गाउँमा सन्नाटा छाएको छ।
यस्तै दुर्घटनामा बेहुलीका आफ्नै १४ वर्षीय भाइ सुशील जोशीको पनि दुर्घटनामा मृत्यु भयो। दिदीको विवाहमा रमाइलो गर्न जन्तीको बसमा चढेका सुशीलले पनि सोही दुर्घटनामा ज्यान गुमाए।
बेहुला र बेहुली भने उक्त बसमा थिएनन्। उनीहरू छुट्टै सानो गाडी (कारमा सवार भएकाले सकुशल छन्।
बेहुला–बेहुली अगाडि छुट्टै गाडीमा थिए। उनीहरुलाई शारीरिक चोट त लागेन। मानसीकरुपमा भने उनीहरु सो दुर्घटनामापछि निकै पिडामा रहेको आफन्तहरु बताउँछन्।
प्रहरीको पछिल्लो विवरण अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। घटनास्थलमा ६ जना, स्वास्थ्य चौकीमा २ जना र डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा ५ जनाको मृत्यु भएको हो।
यस्तै अन्य मृत्तकहरु मृतकहरूमा बझाङ बित्थडचिर–७ का ४० वर्षीय केशबराज जोशी, १३ वर्षीय अशोकराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र बैतडी पुर्चौडी–७ की ४० वर्षीया पुष्पा अवस्थी रहेका छन्।
घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ। डीएसपी रायका अनुसारका गम्भीर घाइते भएका ७ जनालाई धनगढी रेफर गरिएको छ। २३ जनाको डडेल्धुरामा उपचार भइरहेको छ भने ४ जनाको बझाङको देउलेक स्वास्थ्य केन्द्रमा उपचार हुँदैछ।
बैतडी प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। दुघृटना के कारणले यति ठूलो क्षति भयो भन्ने कुरा विस्तृत अनुसन्धानपछि खुल्ने डिएसपी रायले जानकारी दिए।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार