40.8 C
Dhangadhi
Tuesday, April 21, 2026

बझाङको चुनावी मैदानमा उत्रिएका ७ उम्मेदवार, सात थरी एजेन्डा

पढनै पर्ने

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न बझाङमा सात जनाले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारहरू मनोनयन दर्तापछि यतिबेला बझाङका गाउँ–बस्तीमा आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आग्रह गर्नमा व्यस्त छन्।

एक निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका सात जना प्रतिनिधि सभाको सांसदका लागि चुनावी मैदानमा उत्रिएका हुन्।

बझाङमा नेकपा एमालेबाट ऐन महर, नेपाली कांग्रेसबाट प्रकाश रसाइली स्नेही, नेपाली कम्युनिष्ट पार्टीबाट मीनबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शैलेन्द्र कुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विश्वप्रकाश जेठारा, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) बाट भरत मल्ल र नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा चुनावी मैदानमा उत्रिएका हुन्। जिल्लामा उम्मेदवार बनेकाहरू को हुन्? उनीहरूको एजेन्डा कस्ता छन्? चुनाव उठेका उम्मेदवारहरूको दलको अवस्था जिल्लामा के छ? यही विषयमा रातोपाटीले केही जानकारी लिएको छ।

  • ९९८ मतको घाउ पुर्न बझाङमा फेरि मैदानमा ऐन महर

२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर जितको नजिक पुगेर पनि रोकिए। नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग उनी झिनो मतान्तरले पराजित भए। जोशीले २८ हजार ४ सय १३ मत ल्याउँदा महरले २७ हजार ४ सय १२ मत पाएका थिए। हारजितको अन्तर मात्र ९९८ मतको थियो।

त्यही ९९८ मतको अन्तरलाई मेट्न र बझाङबाट केन्द्रको संसद भवनको यात्रा तय गर्न एमाले केन्द्रीय सदस्य समेत रहेका ऐन महर फेरि चुनावी मैदानमा होमिएका हुन्। विद्यार्थी राजनीतिबाट उदाएका महर यसपटक विगतको नतिजा उल्टाउने दाउमा रहेको बताउँछन्।

blank

बझाङको जयपृथ्वी नगरपालिका–७ साविक सुवेडा गाविसमा जन्मिएका महरको बाल्यकाल गाउँमै बित्यो। उनले २०५८ सालमा स्थानीय सुनिपिपल चौर माविबाट एसएलसी पास गरे। उच्च शिक्षाका लागि काठमाडौँ छिरेका उनले त्रिचन्द्र क्याम्पसबाट आईएस्सी र बिएस्सी सके। पढाइमा अब्बल महरले त्रिचन्द्रबाटै समाजशास्त्र, ग्रामीण विकास तथा राजनीतिशास्त्रमा स्नातकोत्तर (मास्टर्स) गरेका छन्। हाल उनी एमफिल/पिएचडी गर्दैछन् भने एलएलबीको अध्ययन पनि अघि बढाइरहेका छन्।

पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि महरलाई कम्युनिष्ट राजनीतिमा तान्ने मुख्य कारण २०५० सालको मदन भण्डारीको दासढुंगा दुर्घटना बन्यो। त्यही घटनापछि एमालेप्रति आकर्षित भएका उनी २०५५ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भए। त्रिचन्द्र क्याम्पसको प्रारम्भिक कमिटीबाट सुरु भएको उनको यात्रा अखिलको केन्द्रीय सदस्य, सचिव, उपाध्यक्ष, महासचिव हुँदै २०७६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म पुग्यो। २०७८ सालमा उनी पार्टीको केन्द्रीय सदस्य बने।

‘मेरो प्रतिस्पर्धी अरु कोही होइन, बझाङको गरिबी हो,’ उनले रातोपाटीलाई भने।

अघिल्लो पटक सम्मानजनक मत ल्याएका महर यसपटक आफ्नो जित सुनिश्चित देख्छन्।

‘मेरो बारेमा बझाङी जनतालाई नयाँ कुरा भनिरहनुपर्दैन, म यहाँको माटोमा भिजेको मान्छे हुँ,’ महर भन्छन्, ‘बझाङी जनता सचेत छन्, उनीहरूले न्याय–अन्याय र विकासप्रेमी को हो भन्ने राम्रोसँग बुझेका छन्।’

आफ्नो मुख्य प्रतिस्पर्धा कांग्रेस र नेकपासँग हुने देखिएको उनी बताउँछन्। उनी बझाङको गरिबी र पछौटेपनलाई नै मुख्य शत्रु मान्छन्। जिल्लामा एमालेका ६ हजार संगठित सदस्य रहेको र जनताको आकर्षण बढेकाले नतिजा आफ्नो पक्षमा आउने उनको दाबी छ।

‘सुखी बझाङी, समृद्ध बझाङ’ को नारा लिएर अघि बढेका महरसँग जिल्लाको विकासका लागि स्पष्ट खाका छ। उनको मुख्य प्राथमिकतामा सडक पूर्वाधार, स्वास्थ्य र चीनसँगको नाका विस्तार रहेको छ।

बझाङको सदरमुकामदेखि सबै पालिकाको केन्द्रसम्म पक्की सडक (पिच) पुर्‍याउने उनको पहिलो योजना छ। त्यस्तै, धुलीदेखि ताक्लाकोटसम्म सुरुङ मार्ग बनाएर चीन र भारत जोड्ने सबैभन्दा छोटो व्यापारिक मार्ग बनाउने सपना उनले देखेका छन्। यो नाका खुल्दा मानसरोवर जाने हिन्दु धर्मावलम्बीका लागि सबैभन्दा छोटो र सुरक्षित बाटो बन्ने उनको विश्वास छ।

जिल्ला अस्पतालको अवस्था सुधार गर्नु उनको अर्को प्राथमिकता हो। अहिले सामान्य उपचारका लागि पनि धनगढी वा भारत जानुपर्ने बाध्यता छ। जिल्ला अस्पताललाई १ सय देखि १५० शैयाको बनाई एमआरआई, सिटी स्क्यानलगायतका सुविधा थप्ने र हरेक पालिकामा ५ देखि १५ शैयाका अस्पताललाई प्रभावकारी बनाउने उनको योजना छ।

जिल्लामा नमुना आवासीय विद्यालय स्थापना गर्ने र सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष पहल गर्ने उनले बताए। युवाहरूलाई गाउँमै रोजगारी दिन कृषि र पर्यटनलाई जोड्ने उनको योजना छ। १ हजार ८ सय मेगावाट विद्युत उत्पादन क्षमता रहेको बझाङमा हाइड्रोपावरको काम अघि बढाउने, जडीबुटी प्रशोधन केन्द्र खोल्ने र खानी उत्खनन् गरेर रोजगारी सिर्जना गर्ने उनले बताए।

‘एक घर, एक धारा’, राष्ट्रिय प्रशारण लाइनको विद्युतीकरण र सिँचाइको सुविधा सबैको पहुँचमा पुर्‍याउने उनका एजेन्डा छन्।

महरको परिवार ठुलो र शिक्षित छ। उनकी श्रीमती त्रिभुवन विश्वविद्यालयमा रसायनशास्त्र (केमेस्ट्री) की सह–प्राध्यापक हुन्। परिवारका अन्य सदस्यहरू अमेरिका, जापान, कोरिया, अष्ट्रेलिया र भारतमा छन्। आफू पूर्णकालीन राजनीतिमा भए पनि परिवार र साथीभाइको व्यवसायमा सेयर भएकाले आर्थिक रूपमा आफूलाई कुनै समस्या नरहेको र ठेक्कापट्टा वा कमिसनको लोभमा फस्नु नपर्ने उनले प्रष्ट पारे।

गत चुनावमा झिनो मतले गुमेको अवसरलाई यसपटक जसरी पनि सदुपयोग गर्ने ध्याउन्नमा महर छन्।

‘म नयाँ हुँ, मेरो विचार, योजना र बझाङ बनाउने हुटहुटी नयाँ र ताजा छ। एकचोटी मलाई अवसर दिनुपर्छ जनताको लागि केही गर्ने,’ महरले भने।

  • बझाङमा ‘रुख’ फर्काउने योजनामा प्रकाश रसाइली स्नेही

२०७९ सालको आम निर्वाचनमा बझाङमा गठबन्धनका कारण नेपाली कांग्रेसले आफ्नो प्रत्यक्ष उम्मेदवार उठाउन पाएको थिएन। समानुपातिकतर्फ भने कांग्रेसले १९ हजार ४ सय ३७ मत प्राप्त गरेको थियो। तर, यसपटकको निर्वाचनमा भने कांग्रेसले आफ्नै उम्मेदवार अघि सारेको छ। कांग्रेसले जिल्लाकै नेता, विद्यार्थी राजनीतिबाट खारिएर आएका प्रकाश रसाइली स्नेहीलाई चुनावी मैदानमा उतारेको हो।

बझाङको जयपृथ्वी नगरपालिका–१० घर भएका रसाइली २०४८ सालदेखि राजनीतिमा सक्रिय छन्। उनी विद्यार्थी आन्दोलन हुँदै मूलधारको राजनीतिमा होमिएका हुन्। उनी २०४८ सालमा नेवि संघको विद्यालय सचिव बनेका थिए। २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख बनेका उनी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गरी दुई महिना जेल बसेका छन्।

blank

२०७४ सालको संसदीय निर्वाचनमा उनी समानुपातिक सांसद बने। उनी प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य छन्। समानुपातिक सांसद हुँदा उनले संसद्मा खेलेको भूमिकाले उनलाई राष्ट्रिय राजनीतिमा स्थापित गरायो।

२०३४ सालमा बझाङको एउटा मध्यम वर्गीय दलित परिवारमा प्रकाश रसाइली स्नेही जन्मिए। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर (मास्टर्स) गरेका उनी विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय छन्। नेविसंघको स्कुल कमिटीदेखि सुरु भएको उनको यात्रा नेविसंघको केन्द्रीय सदस्य, दलित संघको महासचिव हुँदै अहिले नेपाली कांग्रेसको केन्द्रीय महामन्त्रीसम्म पुगेको छ।

‘म सानो बच्चा ४/५ वर्षको हुँदा मेरो पिताजी राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवार हुनुहुन्थ्यो, हजुरबुवा गाउँको मुखिया हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘मेरो रगतमै राजनीति र समाजसेवा बगेको छ। म बझाङको माटोमा हुर्किएको, यहीँको धुलोमाटोमा खेलेको मान्छे हुँ।’

प्रकाश रसाइली स्नेही आफ्नो जितप्रति पूर्ण विश्वस्त छन्। उनले जितका मुख्य तीन आधार प्रस्तुत गरे।

बझाङमा कांग्रेसको बलियो संगठन रहेको उनले बताए। स्थानीय तहको निर्वाचनमा कांग्रेसले ४७ वटा वडा र ११ मध्ये ७ वटा पालिका जितेको थियो। जिल्लामा करिब ६ हजार क्रियाशील सदस्य छन्। नयाँ महाधिवेशनबाट आफू महामन्त्रीमा निर्वाचित भएपछि कांग्रेसमा नयाँ उत्साह थपिएको उनले बताए।

प्रकाश आफैँ पनि गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल जस्ता युवा नेताहरूसँग नजिक रहेर काम गरेका व्यक्ति हुन्। उनलाई नयाँ पुस्ता र आम मतदाताको ठुलो समर्थन रहेको दाबी गर्छन्। विगतमा कांग्रेसभित्र गुट–उपगुटको समस्या भए पनि यसपटक सबै नेताहरू एक ढिक्का भएर उनको पक्षमा उभिएका छन्।

‘म कुनै गुटको नेता होइन, सिङ्गो कांग्रेसको उम्मेदवार हुँ,’ उनी भन्छन्, ‘मभन्दा सिनियर नेताहरूले पनि मलाई अगाडि बढाउनुभएको छ, यो मेरो लागि ठुलो शक्ति हो।’

बझाङको विकासका लागि प्रकाशसँग स्पष्ट दृष्टिकोण छ। उनले बझाङका मुख्य समस्या र समाधानका उपायहरू यसरी औँल्याएका छन्। सेती लोकमार्गको स्तरोन्नति गर्ने र बझाङलाई चीनको ताक्लाकोट नाकासँग जोड्ने उनको पहिलो प्राथमिकता हो।

‘बझाङलाई जोड्ने सडक सञ्जाललाई १२ महिना चल्ने बनाउनु छ,’ उनी भन्छन्।

बझाङमा पश्चिम सेती, कालंगा र बाहुली खोलाबाट ठुलो मात्रामा विद्युत उत्पादन गर्न सकिने सम्भावना छ। साथै, खप्तड, साइपाल हिमाल र धार्मिक स्थलहरूको प्रवर्द्धन गरेर पर्यटनको विकास गर्ने उनको योजना छ।

जिल्लाका विद्यालय र कलेजहरूको गुणस्तर सुधार गर्ने र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उनको अर्को लक्ष्य छ। बझाङमा बेरोजगारीको समस्या विकराल छ। स्थानीय जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेर र कृषि–पर्यटनलाई जोडेर रोजगारी सिर्जना गर्ने उनी बताउँछन्।

उनले आफू समानुपातिक सांसद हुँदा पनि बझाङको विकासका लागि निरन्तर आवाज उठाएको र जिल्लाभर दर्जनौँ विद्यालय र कलेज स्थापनामा भूमिका खेलेको दाबी गरे। स्नेही आफ्नो जोस, राजनीतिक अनुभव र स्पष्ट एजेन्डाका साथ मतदाताको मन जित्न घरदैलोमा व्यस्त रहेको बताउँछन्।

  • जनयुद्धका लडाकुदेखि अहिले साझा उम्मेदवार बनेका मीन कुँवर

२०७९ सालको आम निर्वाचनमा बझाङबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका थिए। उनले २८ हजार ४ सय १३ मत ल्याएर जित हासिल गरेका थिए। त्यतिबेला समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले ८ हजार २ सय ९५ र नेकपा (एकीकृत समाजवादी) ले ५ हजार १ मत पाएका थिए।

अहिले बझाङमा फेरि फागुन २१ गते हुने निर्वाचनको माहोल तातेको छ। यो चुनावी मैदानमा नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र भीम रावल निकट समूह मिलेर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ को साझा उम्मेदवारका रूपमा उभिएका छन्– मीनबहादुर कुँवर।

बझाङको जयपृथ्वी नगरपालिका–१० मा २०३५ सालमा जन्मिएका मीनबहादुर कुँवरको राजनीतिक यात्रा २०४९ सालदेखि सुरु भयो। विष्णुबहादुर कुँवर र बागमती कुँवरका छोरा मीनले २०५७ सालदेखि माओवादी जनयुद्धमा पूर्णकालीन भएर होमिए। उनी जनमुक्ति सेनाको बटालियन कमिसारको भूमिकामा रहेर पाल्पादेखि पश्चिमका विभिन्न युद्धमोर्चामा सहभागी भए।

min-kunwar

शान्ति प्रक्रियापछि पनि उनी निरन्तर पार्टी राजनीतिमा सक्रिय रहे। नेकपा (नेकपा) एकीकरण हुँदा बझाङ जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका उनी नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्ज समेत भइसकेका छन्। स्नातकसम्मको अध्ययन पूरा गरेका मीन पार्टीको केन्द्रीय सदस्य हुन्।

पहिलो पटक संसदीय चुनावमा होमिएका मीन आफ्नो उम्मेदवारीलाई बझाङको विकास र कम्युनिष्ट आन्दोलनको रक्षासँग जोड्छन्।

‘म पद र प्रतिष्ठाका लागि होइन, बझाङको विकास र यहाँका जनताको सेवा गर्न आएको हुँ,’ उनी भन्छन्, ‘लामो समयदेखि विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने र समाजवादको आधार तयार गर्ने मेरो लक्ष्य छ।’

‘बझाङको विकासका लागि जलस्रोत, जडीबुटी र कृषिको प्रचुर सम्भावना छ। यहाँ १८०० मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सक्ने क्षमता छ। साइपाल हिमाल र मानसरोवर जाने सबैभन्दा छोटो बाटो यहीँ पर्छ। यी सम्भावनालाई उजागर गरेर बझाङलाई समृद्ध बनाउनु मेरो मुख्य एजेन्डा हो,’ उनले भने।

मीन कुँवरले आफ्नो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमालेसँग हुने बताएका छन्। यद्यपि, आफू तीनवटा दलको साझा उम्मेदवार भएकाले जित सुनिश्चित रहेको उनको दाबी छ।

‘हामीसँग बलियो संगठन छ। माओवादी र समाजवादीको मत जोड्दा हामी अगाडि छौँ,’ उनी भन्छन्, ‘विगतमा हामी छुट्टाछुट्टै लड्दा पनि राम्रो मत ल्याएका थियौँ। अहिले एक भएर लड्दा हाम्रो शक्ति झन् बढेको छ। जनताले पनि कम्युनिष्ट एकतालाई अनुमोदन गर्नेछन्।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई उनी ‘वैकल्पिक शक्ति’ मान्न तयार छैनन्।

‘रास्वपाको हल्ला मात्र हो, बझाङमा उनीहरूको संगठन छैन। मिडिया र सामाजिक सञ्जालमा कराएर मात्र चुनाव जितिँदैन,’ मीन भन्छन्।

मीनको आफ्नो जीवनशैली निकै सरल रहेको बताउँछन्। उनी आफूलाई ‘पूर्णकालीन कार्यकर्ता’ भन्न रुचाउँछन्। ६ जना दाजुभाइमध्ये उनी जेठो हुन्। उनका भाइहरू विभिन्न पेसा र व्यवसायमा संलग्न छन्। उनकी श्रीमती कमला कुँवर पनि जनयुद्धकी लडाकु हुन्। उनीहरूको विवाह २०६१ सालमा युद्धकै दौरान भएको थियो।

‘म राजनीतिलाई सेवा मान्छु, पेसा होइन,’ उनी भन्छन्, ‘म र मेरो परिवार सधैँ जनताको सेवामा समर्पित छौँ। बझाङको माटो र यहाँका जनताको दुःखसँग म राम्रोसँग परिचित छु।’

निर्वाचनको मिति नजिकिँदै गर्दा मीन कुँवर घरदैलो अभियानमा व्यस्त छन्। कम्युनिष्ट एकताको सन्देश र बझाङको समृद्धिको सपना बोकेर उनी मतदाताको घरदैलोमा पुगिरहेको बताउँछन्।

  • बैंकिङ करिअर र व्यवसाय छाडेर रास्वपाबाट उम्मेदवार बनेका शैलेश भन्छन् ‘गफ होइन, काम गर्न आएको हुँ’

२०७९ सालको आम निर्वाचनमा बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थिति कमजोर थियो। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका प्रेमराज जोशीले ५ सय २८ मत पाएका थिए। यसपटकको चुनावमा भने केही फरक हुने रास्वपाको विश्लेषण छ। जिल्लाका ९ वटा पालिकामा संगठन विस्तार गरिसकेको र करिब ३ हजार ६ सय ६० सक्रिय सदस्य रहेको दाबीसहित रास्वपाले यसपटक ३८ वर्षीय शैलेश कुमार सिंहलाई चुनावी मैदानमा उतारेको छ।

बझाङको तल्कोटमा जन्मिएका शैलेशको बाल्यकाल त्यहीँ बित्यो। मध्यम वर्गीय परिवारमा जन्मिएका उनका बुबाआमा सरकारी शिक्षक थिए।

sailendra-singh

‘हाम्रो पालामा कापी–कलम भन्दा पनि पाटी र कमेरोले लेखेर पढिन्थ्यो, मैले दुर्गा भवानी माविमा त्यसरी नै कखरा सिकेको हुँ,’ उनले भने।

उनले बझाङको विकटता, अभाव र दुःखलाई नजिकबाट देखेको र भोगेका सुनाए।

काठमाडौँ गएर स्नातकोत्तर (मास्टर्स) सम्मको अध्ययन पूरा गरेका शैलेशले करिब एक दशक बैंकिङ क्षेत्रमा बिताए। त्यसपछि उनी शिक्षा र उत्पादनमूलक क्षेत्रमा जमेका व्यवसायी बने। धनगढीमा कलेज सञ्चालनदेखि अन्य व्यवसायमा स्थापित भइसकेपछि उनलाई लाग्यो– ‘अब आफैँ स्थापित भइसकियो, अबको समय समाज र जन्मथलोका लागि दिनुपर्छ।’

शैलेश यसअघि कुनै पनि राजनीतिक दलको कार्यकर्ता थिएनन्। ‘म सत्ता र शक्तिको लागि राजनीतिमा आएको होइन। एउटा व्यक्ति स्थापित भइसकेपछि मात्र राजनीतिमा आउनुपर्छ भन्ने मेरो मान्यता हो। राजनीतिलाई कमाउने भाँडो होइन, सेवाको माध्यम बनाउनुपर्छ,’ उनी भन्छन्।

बझाङमा दशकौँदेखि उही अनुहार, उही आश्वासन र उस्तै समस्या देखेपछि उनमा वितृष्णा जाग्यो।

‘पुराना दलहरूले भोट बैंकको राजनीति मात्र गरे, जनताको जीवनस्तर माथि उकास्ने काम कहिल्यै गरेनन्। २३/२४ सालको आन्दोलन र पछिल्लो समय देशमा देखिएको परिवर्तनको हुटहुटीले मलाई राजनीतिमा तानेको हो,’ उनले भने।

उनी राजनीतिलाई फोहोरी खेल होइन, समाज रूपान्तरणको साध्य मान्छन्। उनले बझाङको विकासका लागि तयार पारिएको स्पष्ट खाकाबारे बताए। उनको पहिलो प्राथमिकतामा सडक पूर्वाधार छ। बझाङमा १०० किलोमिटर यात्रा गर्न ६–७ घण्टा लाग्ने बाध्यतालाई उनी अन्त्य गर्न चाहन्छन्।

‘बाह्रै महिना चल्ने सडक सञ्जाल हरेक वडामा पुर्‍याउनु मेरो पहिलो दायित्व हुनेछ,’ उनी भन्छन्।

स्वास्थ्य क्षेत्रको दयनीय अवस्था देख्दा उनको मन पोल्छ। सामान्य उपचार नपाएर वा अस्पताल पुग्न नपाउँदै बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता बझाङवासीको छ। यसको अन्त्यका लागि हरेक पालिकामा २४ सै घण्टा आकस्मिक सेवा (इमर्जेन्सी सर्भिस) र एम्बुलेन्सको व्यवस्था गर्ने उनको योजना छ। दुर्गम बस्तीहरूमा मोबाइल हेल्थ क्याम्प सञ्चालन गर्ने उनी बताउँछन्।

रोजगारीको अभावमा युवाहरू विदेशिनुपर्ने बाध्यतालाई कम गर्न उनले स्थानीय स्रोत साधनको उपयोग गर्ने नीति लिएका छन्।

‘म जितेपछि तल्कोटमा जडीबुटी प्रशोधन केन्द्र खोल्नेछु, जहाँ ३०० देखि ३५० जनाले रोजगारी पाउनेछन्,’ उनले भने, ‘सेती नदी र साना खोलाहरूमा ‘ट्राउट’ र ‘अस्ला’ माछा पालनलाई व्यावसायिक रूप दिनेछु।’

शैलेशले शिक्षालाई सिपसँग जोड्ने र हरेक विद्यालयमा ई–लाइब्रेरी स्थापना गर्ने सपना पनि देखेका छन्। बझाङ भूकम्पको जोखिममा रहेकाले विपद् व्यवस्थापनको पूर्वतयारी र नीति निर्माणमा पनि उनको विशेष चासो छ।

रास्वपाले धनाढ्यलाई टिकट दिन्छ भन्ने आरोपलाई शैलेश ठाडै अस्वीकार गर्छन्।

‘मैले टिकट किन्न पैसा खर्च गरेको होइन। पार्टीले मेरो योग्यता, क्षमता र समाजप्रतिको उत्तरदायित्व देखेर टिकट दिएको हो। म राजनीतिबाट कमाउन होइन, बरु आफ्नो कमाइ समाज सेवामा लगाउन आएको हुँ,’ उनले भने।

राजनीतिलाई पेसा बनाउनेहरूले नै देशमा भ्रष्टाचार बढाएको उनको बुझाइ छ।

‘मसँग अन्य व्यवसायबाट घर खर्च चलाउने आधार छ, त्यसैले मलाई कमिसन खानु पर्दैन, ठेक्कापट्टामा हात हाल्नु पर्दैन,’ उनले भने।

शैलेशले आफ्नो प्रतिस्पर्धा कुनै व्यक्ति वा दलसँग नभई बझाङको अन्याय, भ्रष्टाचार र कुशासनविरुद्ध रहेको बताए। पुराना दलहरूले पटक–पटक धोका दिएका कारण जनताले यसपटक विकल्प खोजिरहेको उनको बुझाइ छ।

‘गाउँमा संगठन विस्तार हुँदैछ, तर त्योभन्दा ठुलो कुरा जनताको मुड परिवर्तन भएको छ,’ उनले भने, ‘मलाई कुनै ठुलो नेता वा दलको डर छैन। बझाङका जनताले परिवर्तन खोजेका छन् र त्यो परिवर्तनको संवाहक म बन्न सक्छु भन्ने विश्वास छ।’

उनले आफू धनगढी बस्ने भए पनि बझाङको माटो र जनताको दुःखसँग कहिल्यै टाढा नभएको दाबी गरे।

‘म टुरिस्ट उम्मेदवार होइन, यहीँको उत्पादन हुँ। बझाङको समस्यालाई सिंहदरबारमा र संसद्मा बुलन्द आवाजका साथ उठाउन सक्ने हैसियत राख्छु,’ उनले भने।

निर्वाचन नजिकिँदै गर्दा शैलेश घरदैलोमा व्यस्त छन्। पुराना दलहरूको बलियो पकड रहेको बझाङमा यो नयाँ अनुहारलाई जिताउने उनको विश्वास छ।

  • हारले नथाकेका विश्वप्रकाश

२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा बझाङमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विश्वप्रकाश जेठाराले जम्मा १ हजार २ सय ८ मत पाएका थिए। समानुपातिकतर्फ राप्रपाको मतपेटीकामा ८८४ मत मात्र खसेको थियो। गणितीय हिसाबले यो निकै कमजोर नतिजा हो। तर, त्यही कमजोर नतिजा र पटक–पटकको पराजयले जेठारालाई गलाएको छैन। बरु, उनी पाँचौँ पटक बझाङको विकास र राजनीतिक परिवर्तनको एजेन्डा बोकेर फेरि चुनावी मैदानमा होमिएका छन्।

५५ वर्षीय विश्वप्रकाश जेठारा बझाङको केदारस्युँ गाउँपालिका–१, रायलमा जन्मिएका हुन्। यद्यपि, २०३८ सालदेखि उनी सदरमुकाम चैनपुरमा बसोबास गर्दै आएका छन्। सत्यवादी माविबाट एसएलसी पास गरेका उनले जयपृथ्वी क्याम्पसबाट स्नातक र भारतको कुमाउ विश्वविद्यालयबाट स्नातकोत्तर (मास्टर्स) सम्मको अध्ययन पूरा गरेका छन्।

Bisoparaksh-jethara

जेठारा कुनै हाइफाइ जीवनशैली भएका नेता होइनन्। उनको चिनारी एउटा सामान्य व्यवसायी र समाजसेवीको रूपमा छ। सदरमुकाममा लामो समयदेखि सानो स्टेसनरी र फोटो स्टुडियो चलाएर जीविकोपार्जन गर्दै आएका उनी भन्छन्, ‘म सामान्य किसानको छोरा हुँ। फोटो खिचेर र कापी–कलम बेचेरै इमानदार जीवन बिताएको छु।’

विद्यार्थी कालमा नेविसंघको राजनीतिमा छोटो समय बिताएका उनी २०४८ सालदेखि राप्रपामा सक्रिय छन्। उनी पार्टीको जिल्ला सचिव, अध्यक्ष हुँदै अहिले केन्द्रीय सदस्य र केन्द्रीय कार्यसम्पादन समिति सदस्यको भूमिकामा छन्। शाही शासनकालमा उनी जिल्ला विकास समितिको उपसभापति समेत बनेका थिए। राजनीतिबाहेक नेपाल रेडक्रस सोसाइटी बझाङमा लामो समय नेतृत्वदायी भूमिकामा रहेर उनले समाजसेवा गरेका छन्।

२०६४ सालको संविधानसभा निर्वाचनदेखि जेठारा निरन्तर उम्मेदवार बन्दै आएका छन्। २०६४, २०७०, २०७४ र २०७९ पछि अहिलेको उपनिर्वाचन उनको पाँचौँ चुनावी यात्रा हो।

बारम्बारको हारपछि पनि किन उम्मेदवारी? भन्ने प्रश्नमा उनी भन्छन्, ‘चुनाव जित्नका लागि मात्र होइन, एजेन्डा स्थापित गर्न पनि लडिरहेको छु। देशमा व्याप्त भ्रष्टाचार, धर्म संस्कृतिको नास र लुटतन्त्रका विरुद्ध मेरो उम्मेदवारी हो।’

उनले बझाङका जनताले ठुला दलहरूको विकल्प खोजिरहेको दाबी गरे। ‘कांग्रेस, एमाले र माओवादीसँग जनता रुष्ट छन्। उनीहरूले देश बिगारे। म निष्कलंक छु, त्यसैले जनताले मलाई यसपटक न्याय गर्नेछन् भन्ने विश्वास छ,’ जेठारा भन्छन्।

राप्रपाको संगठन बझाङमा कमजोर रहेको कुरा जेठारा स्वयं स्वीकार्छन्। २०६२/६३ को आन्दोलनपछि जिल्लामा राप्रपाको संगठन ‘शून्य’ जस्तै अवस्थामा पुगेको उनी बताउँछन्।

‘कागजमा समितिहरू भए पनि गाउँगाउँमा हाम्रो संगठन बलियो छैन,’ उनी भन्छन्, ‘तर, जनताको मनमा हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रप्रतिको आस्था जागेको छ। संगठन कमजोर भए पनि विचार बलियो छ।’

गत चुनावमा थोरै मत आए पनि हलो र सूर्य चिन्हमा जनता झुक्किँदा धेरै मत बदर भएको उनको बुझाइ छ। जेठाराले राष्ट्रिय र स्थानीय दुवै एजेन्डालाई प्राथमिकतामा राखेका छन्। वैदिक सनातन हिन्दु राष्ट्रको पुनर्स्थापना, अभिभावकका रूपमा संवैधानिक राजसंस्था, प्रदेश संरचनाको खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री उनको मुख्य राजनीतिक माग हो।

२०४६ सालदेखि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कडा नीति राप्रपाले लिएको उनले बताए। बझाङमा पाइने बहुमूल्य जडीबुटीको प्रशोधन केन्द्र खोल्ने, पश्चिम सेती र कालंगा जस्ता जलविद्युत आयोजनालाई अघि बढाउने र सडक सञ्जाललाई बाह्रै महिना चल्ने बनाउने उनको योजना छ।

‘युवालाई विदेश लखेट्ने होइन, गाउँमै जडीबुटी र पर्यटन उद्योगमा रोजगारी दिने मेरो भिजन छ,’ उनी भन्छन्।

आफूलाई बझाङको भूगोल र जनताको पीडा राम्रोसँग थाहा भएको बताउने जेठारा आफूमाथि कुनै पनि भ्रष्टाचार वा अनैतिक कामको दाग नलागेको दाबी गर्छन्।

‘म ४२ वर्षदेखि सदरमुकाममा बसेर जनताको सुखदुःखमा साथ दिइरहेको छु। नागरिकता बनाउन नसक्ने गरिबदेखि प्रहरी प्रशासनमा हेपिएका निमुखाको पक्षमा बोलेको छु,’ उनी भन्छन्।

अन्य दलका नेताहरूले पटक–पटक जितेर पनि बझाङको मुहार फेर्न नसकेको आरोप लगाउँदै उनले यसपटक हलोमा भोट दिएर परीक्षण गर्न आग्रह गरे।

‘म इमानदार र चरित्रवान् छु। अरूले जस्तो राज्यको ढुकुटी मास्ने काम गर्ने छैन,’ उनले भने, ‘बझाङवासीले विवेक प्रयोग गरे भने यसपटक नतिजा फरक आउन सक्छ।’

ठुला दलहरूको रस्साकस्सीका बिच जेठारा आफ्नो ‘इमानदार छवि’ र वैकल्पिक विचारका साथ मतदाताको घरदैलोमा पुगिरहेको बताउँछन्। नतिजा जे आए पनि आफ्नो एजेन्डा र निष्ठाबाट पछि नहट्ने उनको अडान छ।

  • विप्लवका उम्मेदवार भरत मल्ल

सधैँ संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी यसपटक भने बझाङको निर्वाचनमा होमिएको छ। पार्टीले आफ्नो विचार र एजेन्डा जनतामाझ लैजान भन्दै ४१ वर्षीय युवा नेता भरत मल्ललाई चुनावी मैदानमा उतारेको छ।

सधैँ आन्दोलन र संघर्षको कुरा गर्ने विप्लव समूहका उम्मेदवार मल्ल को हुन् त? बझाङको केदारस्युँ गाउँपालिका–४ सैन्स्युमा मल्ल जन्मिएका हुन्।

भरत मल्लको बाल्यकाल सामान्य बालबालिकाको जस्तो खेलकुद र पढाइमा मात्र सीमित रहेन। देशमा माओवादी जनयुद्ध सुरु हुँदा उनी कलिलै थिए। तर, राज्य पक्षको धरपकडबाट उनी अछुतो रहन सकेनन्।

‘म १३ वर्षको हुँदा तत्कालीन डिएसपी छविलाल बन्जाडेको नेतृत्वमा आएको टोलीले माओवादीको आरोपमा मेरो घरका बुवाहरू र मलाई समेत गिरफ्तार गरेको थियो,’ मल्ल भन्छन्, ‘मैले १३ वर्षकै उमेरमा जेलको अनुभूति गरिसकेको थिएँ।’

त्यही घटनाले उनलाई राजनीतिमा लाग्न प्रेरित गर्यो। १८ वर्षदेखि २८ वर्षसम्मको आफ्नो जीवनको स्वर्णिम उमेर गणतन्त्र स्थापनाका लागि जनयुद्धमा खर्चिएको उनी बताउँछन्।

bharat-malla

शान्ति प्रक्रियापछि माओवादी मूलधारको राजनीतिमा आयो। तर, मल्ललाई नेतृत्वको कार्यशैली चित्त बुझेन। नेताहरूले गद्दारी गरेको निष्कर्ष निकाल्दै उनी २०७१ सालदेखि विप्लव नेतृत्वको नेकपामा समाहित भए।

‘हामीले व्यवस्था परिवर्तनका लागि लड्यौँ, तर नेताहरू बदलिए, जनताको अवस्था बदलिएन,’ मल्ल भन्छन्, ‘त्यसैले सहिदको सपना र जनताको मुक्तिका लागि म विप्लव दाइसँगै निरन्तर संघर्षमा छु।’

पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका मल्ल बझाङी जनता पुराना दल र तिनका नेताबाट वाक्क भएको दाबी गर्छन्। जनताले चुनाव र पार्टी देखे पनि साँचो अर्थमा नेता र परिवर्तन नदेख्दा निराशा छाएको उनको बुझाइ छ।

‘जनताले पुराना पार्टीहरूलाई जर्जर अवस्थामा पुगेको देखेका छन्, उनीहरू नयाँ अनुहार र नयाँ विचारको खोजीमा छन्,’ मल्ल भन्छन्, ‘हाम्रो संगठन ठुलो नहोला तर हाम्रो विचार र त्यागलाई जनताले सम्मान गर्नेछन्।’

मल्लले आफ्नो उम्मेदवारीलाई जनताको पक्षमा गरेको विद्रोहको रूपमा अर्थ्याएका छन्। भरत मल्लसँग बझाङको विकासका लागि उत्पादनसँग जोडिएको भिजन छ। उनको मुख्य एजेन्डा नै युवालाई उत्पादनसँग जोड्नु हो।

‘राष्ट्रिय पुँजीको विकास गर्दै युवाहरूलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने मेरो रोडम्याप छ,’ मल्ल भन्छन्, ‘विकास भनेको फुल्ने मात्र होइन, फल्ने पनि हुनुपर्छ। त्यो फल जनताले चाख्न पाउनुपर्छ।’

उनले विचारले पनि नयाँ नेतृत्व आवश्यक रहेको औँल्याए। पुराना दलहरूले आश्वासन मात्र बाँडेको तर आफूहरूले काम गरेर देखाउने उनको दाबी छ।

चुनाव नजिकिँदै गर्दा विप्लवका यी उम्मेदवार ठुला दलहरूको रस्साकस्सीका बिच आफ्नो फरक पहिचान बनाउन गाउँ–गाउँ डुलिरहेको बताउँछन्। भूमिगत राजनीति र सडक संघर्षबाट आएका आफूलाई बझाङी जनताले मतपत्रमार्फत विश्वास गरी जिताउन आग्रह गरे।

  • शिक्षकको जागिरबाट राजीनामा दिएर वकालत गरिरहेका दलबहादुर बोहरा

बझाङमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट आगामी फागुन २१ मा हुने निर्वाचनमा दलबहादुर बोहरा उम्मेदवार बनेका छन्। उम्मेदवारी दर्ता गराएर उनी चुनावको लागि तयारी गरिरहेका छन्। २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा बझाङमा समानुपातिकतर्फ जम्मा ४ मत मात्र पाएको नेमकिपाले यसपटक बोहरालाई अघि सारेको छ। संगठन कमजोर भए पनि आफ्नो विचार र सिद्धान्त बलियो रहेको बोहराको दाबी छ।

दलबहादुरको जन्म बझाङको तत्कालीन बंगल नगरपालिकामा भएको हो। बुवाबाजे तराई झरेपछि उनी सानैमा कञ्चनपुर पुगे। भीमदत्त नगरपालिका–७ मा उनको स्थायी बसोबास भयो।

कञ्चनपुरकै स्थानीय विद्यालयबाट २०४७ सालमा एसएलसी पास गरेका बोहरा पढाइमा अब्बल थिए। सिद्धनाथ बहुमुखी क्याम्पसबाट आईए र नेपाल ल क्याम्पस काठमाडौंबाट बीए (कानुन) सकेका उनले राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) सम्मको अध्ययन पूरा गरेका छन्।

बोहराको करियर शिक्षण पेसाबाट सुरु भयो। उनी प्रावि तहको स्थायी शिक्षक थिए। कानुन पढेका उनलाई वकालत गर्ने हुटहुटी चल्यो।

‘पढाउँदै गर्दा वकालत गर्न मन लाग्यो, त्यसैले २०७३ माघ ४ गते स्थायी शिक्षकको जागिरबाट राजीनामा दिएँ,’ उनले भने।

dal bahadur-bohara

शिक्षण पेसा छोडेर उनले महेन्द्रनगरमा आफ्नै ‘ल फर्म’ खोले। विगत १४ वर्षदेखि उनी निरन्तर वकालत पेसामा सक्रिय छन्। अदालतमा बहस गर्ने बोहरालाई अहिले भने नेमकिपाको सिद्धान्तले राजनीतिमा तानेको छ।

नेपालमा ठूला दलहरूको वर्चस्व छ। कांग्रेस, एमाले, माओवादी जस्ता पार्टीहरू सत्तामा छन्। बोहराले साना पार्टी ‘नेमकिपा’ किन रोजे त?

‘अहिलेका ठूला दलहरूको न कुनै नीति छ, न सिद्धान्त। उनीहरू मात्र लुट्नमा व्यस्त छन्। नेमकिपाको नीति र सिद्धान्त मन परेको हुनाले म यसमा आबद्ध भएँ,’ उनले भने।

उनी अन्य दलहरूप्रति निकै आक्रामक सुनिन्छन्। अहिलेको राजनीतिलाई उनी झुटको खेती भन्छन्।

‘हामी अरू पार्टीजस्तो भोट किन्न सक्दैनौं, झुटो आश्वासन बाँड्दैनौं,’ उनी भन्छन्, ‘हाम्रो संगठन सानो छ, कार्यकर्ताले सदस्यता समेत पाएका छैनन्, तर हामी विचारको राजनीति गर्छौं,’ उनले भने।

बझाङमा नेमकिपाको संगठन कति कमजोर छ भन्ने कुरा अघिल्लो चुनावको नतिजाले देखाउँछ। तर, बोहरा यसमा विचलित छैनन्। उनी जनताको चेतनास्तरप्रति भने चिन्तित र केही आक्रोशित पनि सुनिन्छन्।

‘नेपालका जनतामा अझै राजनीतिक चेतना आएको छैन,’ उनी थोरै व्यंग्य गर्दै भन्छन्, ‘यहाँका जनता भेडाजस्ता छन्। बाटो देखाउनेले जता लग्यो उतै लाग्छन्। एकै रातमा कायापलट हुन्छ यहाँको भोट।’

अहिले नयाँ भनिएका दलहरू (जस्तै रास्वपा) प्रति पनि उनी आशावादी छैनन्। मिडियामा देखिएको तामझाम र यथार्थ फरक रहेको उनको बुझाइ छ। पुराना दलहरू अलि झस्किए पनि उनीहरूको रवैया उस्तै रहेको उनी बताउँछन्।

कञ्चनपुरको भेला समिति संयोजक समेत रहेका बोहरा चुनाव प्रचारका लागि १०–१२ दिन मात्र बझाङमा बस्ने योजनामा छन्। जित्ने आधार बलियो नभए पनि उनी आफ्नो उम्मेदवारीलाई सिम्बोलिक (प्रतीकात्मक) मान्छन्।

‘म कानुन व्यवसायी हुँ, मेरो पेसा छँदैछ,’ उनी भन्छन्, ‘तर राजनीतिमा गलत प्रवृत्तिविरुद्ध उभिनका लागि मेरो उम्मेदवारी हो।’

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार