कैलालीमा नयाँ नयाँ तरिकाले लागूऔषधको कारोबार र प्रयोग भइरहेको पाइएको छ।
प्रहरीले पक्राउ गर्ने घटनामा हेर्दा जिल्लामा अझै गंम्भिर तरिकाले लागूऔषधको कारोबार भइरहेको देखाएको हो।
फरक फरक शैलीमा लागूऔषधको कारोवार भइरहेको घटनाले चुनौती देखिएको छ।
जुन घटनाले लागुऔषधको दुव्र्यसन पारिवारिक तहसम्मै पुगिसकेको पुष्टि गर्छ। जिल्लामा आमाले छोराका लागि लागूऔषध बोक्ने, भाइले दाईका लागि लागूऔषधको ओसारपसार गर्ने घटना सार्वजनिक भइसकेको अवस्था छ।
पछिल्लो २४ घण्टामा कैलालीका विभिन्न स्थानबाट लागूऔषधको कारोबार संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको थियो।
फेरि धनगढीमा लागूऔषध परिवारिक तहमा पुगेको द्धटना सार्वजनिक भएको छ। मंगलबार धनगढी उपमहानगरपालिका–१० का राम मिलन रानाको घरमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचना प्रहरीले पाएको थियो। वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध ब्यूरोको संयुक्त टोलीले घरमा छापा मारेको थियो।
घरभित्रै रहेकी राम मिलनकी २० वर्षीया श्रीमती द्रोपती रानाको साथबाट २ ग्राम १४० मिलिग्राम ब्राउन सुगर फेला पर्यो। यति मात्र नभई सोही घरमा रहेका उनका १७ वर्षीय देवर महेश राना पनि लागुऔषधसहित पक्राउ परे। उनको साथबाट १४० मिलिग्राम ब्राउन सुगर बरामद भयो। परिवारका सदस्यहरू मिलेर घरमै लागुऔषध राख्नु वा बेच्नुले युवा पुस्ता र पारिवारिक संरचनामा लागुऔषधले पु¥याएको क्षतिको भयावह तस्विर प्रस्तुत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक कैलाससिंह विष्टले बताए। प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। यसरी परिवारका सदस्यहरु लगूऔषधको दलदलमा फसेपछि ठुलो खोजीम देखिएको रानाथारु समुदायका अगुवा भानुप्रताप रानाले बताए। उनले पुरै समुदायनै प्रभावित हुने गरि भइरहेको लागूऔषधको जालोलाई तोड्न प्रत्येक घरघरमा चेतना आवश्यक रहेको बताए।
‘आज एक घरमा यस्तो समस्या देखियो, भोली अर्काे घरमा यस्तो हुँदा, हुँदा पुरै समाज लागूऔषधको सिकार बन्न पुग्छ, यदि हामीले समाज लागूऔषधबाट बचाउनु छ भने कारोबारीलाई प्रक्राउ, विक्रिवितरण गर्नबाट रोक लगाउने, समुदायमा लागूऔषधबारे बुझाउन जरुरी छ,’उनले भने।
उनका अनुसार अहिले लागूऔषध नियन्त्रणका लागि भएका कामहरुले प्रतिफल दिन सकेको अवस्था छैन।
कैलालीमा प्रहरी प्रशासन, स्थानीय तह, विद्यालय जस्ता निकायले समन्वय गरेर समुदायमा लागूऔषधबारे बुझाउन जरुरी छ। लागूऔषध सेवन एक रोगका रुपमा लिएर सोही अनुसार उपचारको खाँचो रहेको रानाले बताए।
लागूऔषध सेवन गर्नेलाई कारवाही गरेर मात्र यो समस्या नहट्ने भएकाले सबैभन्दा पहिला अव युवालाई लागूऔषध सेवनबाट टाढा राख्ने वातावरण गर्नुपर्ने उनको भनाई छ। घरसम्मै पुगेको लागूऔषधलाई भगाउन चुनौती भएकाले सबैलाई यसलाई हटाउन गंम्भिर भएरका लाग्नुपर्ने उनको सुझाव छ। जिल्लामा घरभित्र लागूऔषध पुग्नुको कारण सिमानाकाबाट लागूऔषधी चलाखीपूर्ण तरिकाले भित्राउने गरेको पाइएको छ। टीकापुर नगरपालिका–९ स्थित खक्रोला चेकपोष्ट लागुऔषध तस्करीको मुख्य विन्दुको रूपमा देखिएको छ। सोही चेकपोष्टमा खटिएको प्रहरी टोलीले छिमेकी जिल्ला बर्दियाबाट आएका दुई युवालाई ठूलो परिमाणको खैरो हिरोइनसहित नियन्त्रणमा लियो।
पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका–४ का २१ वर्षीय राजेश थारु र २३ वर्षीय ईन्द्रबहादुर थारु रहेका छन्। उनीहरूको खानतलासी गर्दा २ ग्राम ९०० मिलिग्राम खैरो हिरोइन फेला परेको थियो। सीमा नाकाबाट हुने यस्ता ओसारपसारले लागुऔषधको अन्तर–जिल्ला संजाल निकै बलियो रहेको संकेत गरेको टिकापुरमा लामो समयदेखी लागूऔषधी दुव्र्येशनीमा फसेकाहरुलाई नयाँ जीवन दिइरहेका कल्पेश कुँवरले बताए।
‘लागूऔषधको जालो तोड्नै प्रहरीले प्रशासनले विशेष निगरानी, विशेष मिसन बनाएर काम गर्नुपर्छ, प्रहरी मात्र नभई सबैले यसमा लाग्नुपर्छ,’उनले भने।
प्रहरीका अनुसार कारोबारीहरूले प्रहरीको आँखा छल्न नयाँ–नयाँ उपाय अपनाउने गरेका छन्। टीकापुरकै खक्रोला चेकपोष्टमा लम्किचुहा नगरपालिका–४ कौवापुरका २६ वर्षीय सुनिल मल्ल पक्राउ परे। उनी सुदूरपश्चिम प्रदेश ०१–०१० प ८१३५ नम्बरको मोटरसाइकलमा सवार थिए। सुरुमा सामान्य देखिए पनि प्रहरीले सूक्ष्म ढंगले मोटरसाइकल जाँच गर्दा सिटभित्र लुकाइएको अवस्थामा २ ग्राम ९८० मिलिग्राम खैरो हिरोइन फेला पार्यो। मोटरसाइकलसहित मल्ललाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ।
यी घटना त प्रहरी पछिल्लो २४ घण्टामा फेला पारेका मात्र हुन्। वार्षिक तथ्यांक हेर्ने भने लागूऔषधको कारोवार उच्च छ। ऋझ सबै घटना प्रहरी भन्दा बाहिर छन्। जसबाट यहाँका युवा लागूऔषधको दलदलमा फसेका छ।
कैलालीमा १७ वर्षका किशोरदेखि २६ वर्षसम्मका युवाहरू लागुऔषधको दलदलमा फसेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। एकै घरका देवर–भाउजु पक्राउ पर्नुले यो समस्या व्यक्तिगत मात्र नभई सामाजिक समस्या बनिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक कैलाशसिंह विष्टले बताए।
‘प्रहरीको सक्रियताले कारोबारीहरू पक्राउ परे तापनि, लागुऔषधको स्रोत र यसको मागलाई नियन्त्रण गर्न समुदाय र परिवारको स्तरबाटै ठूलो अभियानको आवश्यकता देखिएको छ,’उनले भने।
कैलालीमा घरभित्रै पुग्यो लागूऔषध

