९ वर्षअघि आफ्नो ११ वर्षे सुनिश्चित जागिर र सरकारी अधिकृत बन्ने सपनालाई त्यागेर धनगढीकी कल्पना भट्टले अलि फरक बाटो रोजिन्।
त्यसबेला धनगढीकी बासिन्दा कल्पना तिहार मनाउन काठमाडौँबाट आफ्नो घर आएकी थिइन् । धनगढीको एउटा व्यस्त सडकमा उनको नजर एक मानसिक सन्तुलन गुमाएकी गर्भवतीमा पर्यो । ती महिलाको शरीरमा झुत्रो र फोहर लुगा थियो, कपाल जटा परेको थियो र उनी सडकमै बेवारिसे अवस्थामा डुलिरहेकी थिइन् ।
काठमाडौँमा बस्दा पनि कल्पनाले यस्ता दृश्यहरू नदेखेकी होइनन्, तर आफ्नै सहरको सडकमा एक असहाय गर्भवतीको त्यो विरक्तलाग्दो अवस्था देख्दा उनको मन भक्कानियो । उनलाई सहयोग गर्न मन त लाग्यो, तर कसरी गर्ने रु कहाँ लैजाने रु त्यो बेला उनीसँग न कुनै उपाय थियो, न त उद्धार गर्ने कुनै संस्थाको जानकारी नै ।

तिहार सकिएपछि कल्पना काठमाडौँ त फर्किइन्, तर त्यो गर्भवतीको अनुहार र सडकका ती बेसहारा दृश्यहरूले उनलाई छायाले झैँ पछ्याइरहे । उनले सोच्न थालिन्–‘मैले स्नातकोत्तर गरेँ, जागिर खाएँ, तर आफ्नै सहरका दिदीबहिनी सडकमा बलात्कृत भइरहँदा र उपचार नपाएर मरिरहँदा मेरो पढाइ र जागिरको के अर्थ रु’ उनले एउटा साहसिक निर्णय गरिन् र सबै सुख–सुविधा छोडेर धनगढी फर्किइन् ।

धनगढी फर्केपछि कल्पनाले आफ्नो अभियान एक्लै सुरु गर्न सम्भव थिएन । उनले ११ जना महिलाहरूको एउटा समूह बनाइन् । सुरुमा ती ११ जनाले जनही १० हजार रुपैयाँ सङ्कलन गरेर एउटा कोष खडा गरे । आजभन्दा ८ वर्षअघि आधिकारिक रूपमा ‘दृष्टि फाउन्डेसन’ दर्ता भयो ।
संस्था त दर्ता भयो, तर चुनौतीका चाङहरू अगाडि थिए । सडकबाट मान्छे उद्धार गरेर ल्याएपछि राख्ने ठाउँ थिएन ।
‘सुरुमा हामीसँग केही थिएन, मात्र इच्छाशक्ति थियो,’ कल्पनाले भनिन् । त्यही समयमा धनगढीका स्थानीय हरि श्रीपालीले मानवता देखाउँदै उद्धार गरिएका महिलाहरूलाई राख्न आफ्नो एउटा घर निःशुल्क उपलब्ध गराए । पहिलो महिनामै सडकबाट ८ जना महिलाको उद्धार भयो । समयसँगै उद्धार गरिएकाहरूको संख्या बढ्दै गयो । हरिले दिएको घर साँघुरो हुन थाल्यो । कल्पनाले अर्को घर भाडामा खोज्न थालिन्, तर समाजको सोच कति सङ्कुचित छ भन्ने कुरा उनले त्यतिबेला महसुस गरिन्, जब धेरै घरबेटीले ‘बहुलाहरूलाई राख्न दिँदैनौँ’ भन्दै घर भाडामा दिन अस्वीकार गरे । धेरै दिनको ठुलो प्रयासपछि मात्र एउटा घर फेला पर्यो, जहाँबाट संस्थाको सेवा अघि बढ्यो ।
दृष्टि फाउन्डेसनले स्थापनादेखि हालसम्म ६११ जना बेसहारा महिला र बालबालिकाको सडकबाट उद्धार गरिसकेको छ, तीमध्ये ५२५ जना त पूर्ण रूपमा निको भएर आफ्नै परिवारमा फर्किसकेका छन् ।
ती निको भएर घर फर्किनेमध्ये एक हुन् दाङकी गौधुली । मानसिक सन्तुलन गुमाएपछि आफ्नै श्रीमान्ले ‘उपचार गर्न लैजान्छु’ भन्दै उनलाई एउटा ट्रकमा चढाएर अलपत्र छाडिदिएका थिए । ट्रकबाट धनगढी पुगेकी गौधुलीलाई सडकमा भौतारिरहेको अवस्थामा कल्पनाको टोलीले फेला पार्यो । करिब एक वर्षको निरन्तर औषधि, उपचार र प्रेमपूर्ण परामर्शपछि गौधुली निको भइन् । अहिले उनी आफ्नो माइतीमा बसेर ठेलामा मकै बेच्छिन् र स्वावलम्बी जीवन जिउँछिन् । ुदिदीले गर्दा मैले नयाँ जिन्दगी पाएँ, उहाँ मेरो लागि भगवान् हुनुहुन्छ,’ गौधुली फोनमा सुनाइन् ।
६८ जनाले लिइरहेका छन् आश्रय
अहिले फाउन्डेसनमा ४८ जना महिला र २० जना बालबालिका गरी कुल ६८ जना आश्रित छन् । यी २० जना बालबालिकामध्ये कोही आमासँगै सडकबाट आएका हुन् भने कोही सडकमै बलात्कृत भएका आमाहरूबाट आश्रमभित्रै जन्मिएका हुन् । कतिपय त आमाबुबा दुवै नभएका अनाथ छन् ।
कल्पना यी बालबालिकाको भविष्यप्रति निकै चिन्तित र संवेदनशील छिन् । आश्रमका ५ जना बालबालिका अहिले जनता माध्यमिक विद्यालयमा पढ्छन् भने अन्यलाई विभिन्न निजी बोर्डिङ स्कुलका सञ्चालकहरूको सहयोगमा शिक्षा दिइएको छ । बालबालिकालाई आमाहरूसँगै राख्नुपर्ने बाध्यता भए पनि उनीहरूको लागि छुट्टै बालमैत्री भवनको आवश्यकता कल्पनाले महसुस गरेकी छिन् ।
संस्थामा आश्रित रहेकै अवस्थामा हालसम्म १८ जनाको मृत्यु भएको छ । ती बेसहाराहरूको अन्तिम संस्कार गर्ने कोही नहुँदा कल्पनाको टिम आफैँले दागबत्ती दिने गरेकी छन् । उनले अहिलेसम्म १५ जनाको चितामा दागबत्ती दिइसकेकी छन् ।
कुनै पनि संस्था व्यक्तिको एकल प्रयासले मात्र चल्दैन । कल्पनालाई साथ दिन चन्द्रा तिरुवा जस्ता समर्पित पात्रहरू छन् । स्थापनाकालदेखि नै स्वयंसेवक भएर काम गरेकी चन्द्रा अहिले संस्थाको मुख्य व्यवस्थापन सम्हाल्छिन् । ‘मलाई यहाँ काम गर्दा छुट्टै आत्मसन्तुष्टि मिल्छ,’ चन्द्रा भन्छिन् । उनीसँगै ८ जना अन्य स्वयंसेवकहरू पनि फाउण्डेसनका महिला तथा बालबालिकाको पालनपोषणमा खटिन्छन् । कोही त कलेज जाने स्वयमसेवक पनि छन् । ती छात्राहरूको पढाइ खर्च र पकेट खर्च फाउन्डेसनले नै व्यहोर्ने गरेको छ ।
सुरुमा व्यक्तिगत लगानीबाट सुरु भएको यो अभियान अहिले समुदायको सहयोगमा अडिएको छ । स्थानीय दाताहरूले आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठ वा पितृहरूको पुण्य तिथिको अवसर पारेर खाद्यान्न, लत्ताकपडा र नगद सहयोग गर्छन् ।

सरकारको तर्फबाट पनि केही सहयोग हुन थालेको छ । धनगढी उपमहानगरपालिकाले वार्षिक ५ लाख रुपैयाँ बजेट दिने गरेको छ । कतिपय वडा कार्यालय अन्य निकायले पनि सहयोग गर्नेछ । यस्तै संस्थाले एउटा ठुलो महायज्ञ आयोजना गरेर ‘अक्षयकोष’समेत स्थापना गरेको छ, जसको ब्याजबाट संस्थाको दैनिक खर्चमा केही राहत पुग्ने गरेको छ ।
काम जति राम्रो भए पनि चुनौतीका पहाडहरू कम छैनन् । मानसिक रोगी महिलाहरूको सुरक्षा सबैभन्दा जटिल पाटो हो ।
‘उनीहरूलाई कडा सुरक्षामा राख्नुपर्छ, कहिलेकाहीँ काँडेतार लगाएको पर्खालबाट पनि भाग्ने प्रयास गर्छन्,’ चन्द्रा भन्छिन् ।
अर्को ठुलो अभाव भनेको विशेषज्ञ मनोपरामर्शदाता र डाक्टरको हो । आश्रममै नियमित स्वास्थ्य जाँच र औषधिको व्यवस्था हुन सके धेरै महिला अझै चाँडो निको भएर घर फर्कन सक्थे ।
संस्थामा आश्रित रहेकै अवस्थामा हालसम्म १८ जनाको मृत्यु भएको छ । ती बेसहाराहरूको अन्तिम संस्कार गर्ने कोही नहुँदा कल्पनाको टिम आफैँले दागबत्ती दिने गरेकी छन् । उनले अहिलेसम्म १५ जनाको चितामा दागबत्ती दिइसकेकी छन् ।
नेपाली समाजमा महिलाले दागबत्ती दिनुलाई अझै पनि कतिपयले आलोचनाको विषय बनाउँछन् । तर, कल्पना भन्छिन्, ‘म ८ कक्षामा पढ्दा बुबा बित्नुभयो, छोरीले छुनु हुँदैन भनेर मैले टाढैबाट फूल चढाएँ । तर आज यी बेसहाराहरूका लागि मैले छोरी बनेर दागबत्ती दिँदा मेरो आत्माले शान्ति पाउँछ । मेरो लागि संस्कारभन्दा मानवता ठुलो हो,’ कल्पनाले भनिन् ।
धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्य निसा आउँजी कल्पनाको टिमले गरेको काम निकै प्रशंसनीय रहेको बताउँछिन्
‘राज्यले गर्नुपर्ने काम एउटा संस्थाले गरेको छ, यो निकै सराहनीय छ,’ आउँजीले भनिन् ।
कल्पनाको परिवार उनको कामबाट गौरवान्वित बनेको छ । उनको कामको प्रसंसा गर्दै विभिन्न संघसंस्थाबाट कल्पना सम्मानित भएकी छन् ।
