रास्वपाको सुदूरपश्चिमको इतिहासलाई हेर्ने हो भने यसको सुरुवात स्वतन्त्र उम्मेदवारहरूको लहरसँग जोडिएको देखिन्छ। पार्टीका सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीका अनुसार, धनगढी उपमहानगरपालिकामा गोपाल हमालले स्वतन्त्र रूपमा चुनाव जितेपछि सुदूरपश्चिममा एउटा नयाँ राजनीतिक चेतनाको विकास भयो।
त्यतिबेला भोजराज जोशी र उनका साथीहरू पब्लिक पावर नामक संस्थामार्फत ९ वटै जिल्लामा स्वतन्त्र जिताऔँ अभियानमा सक्रिय थिए। उनीहरूले सुरुमा एउटा प्रदेश स्तरीय छुट्टै पार्टी खोल्ने सोच बनाएका थिए। त्यहि बेला रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरे। उनीहरूले क्षेत्रीय पार्टीभन्दा राष्ट्रिय प्लेटफर्ममै जोडिनु उपयुक्त ठाने। यसरी धनगढीको ओम प्यालेसमा पहिलो कार्यक्रम गरेर सुदूरपश्चिममा रास्वपाको औपचारिक यात्रा सुरु भयो।

सुरुवाती दिनमा प्रत्येक जिल्लाबाट २–२ जना प्रतिनिधि रहने गरी ३२ जनाको प्रदेश समिति बनाइएको थियो। जसमा सन्तोष जोशी हालका प्रदेशका महामन्त्री लगायत ५–७ जना मात्र सक्रिय थिए। २०७९ को आम निर्वाचनका बेला पार्टी भर्खरै स्थापना भएको थियो। त्यो बेला सुदूरपश्चिममा उम्मेदवार खोज्नै हम्मे–हम्मे परेको थियो। त्यसबेला प्रदेशका प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्र मध्ये १३ क्षेत्रमा उम्मेदवारी उठाइयो। पार्टीले समानुपातिकतर्फ ४५ हजारभन्दा बढी मत प्राप्त ग¥यो।
रास्वपा सुदूरपश्चिमका प्रदेश सभापति प्रकाश विष्टका अनुसार पार्टीको संगठनात्मक स्वरूप विगत भन्दा अहिले बलियो बनेको छ। २०७९ माघ २६ गते उनी सभापति हुँदा पार्टीको संरचना निकै सीमित थियो। केही जिल्ला संयोजक र थोरै सदस्यहरू मात्र थिए। विगत एक वर्षको अवधिमा पार्टीले ठुलो फड्को मारेको उनले बताए। उनका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा मात्रै रास्वपाका ३८ हजारभन्दा बढी संगठित सदस्यहरू रहेका छन्। पार्टीको संरचना ८८ वटा पालिकामध्ये ६५ वटामा विस्तार भइसकेको छ भने वडा स्तरसम्म पुग्ने क्रम जारी छ। कैलाली र कञ्चनपुरमा पार्टीको पकड निकै बलियो देखिएको उनले बताए। कैलाली र कञ्चनपुरमा मात्रै संघीय संसदका ८ वटा निर्वाचन क्षेत्रमा पार्टीले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको उनी बताउँछन्। रवि लामिछानेमाथि राज्यले गरेको प्रतिशोधको विरुद्धमा सुदूरपश्चिममा ठुलो जनलहर देखिएको उनले बताए। पार्टीले सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानमा सुदूरपश्चिमबाट मात्रै करिब साढे दुई लाख देखि ३ लाख मानिसले हस्ताक्षर गरेका उनले जानकारी दिए।
विष्टका अनुसार यो संख्या ठुला पार्टीहरू कांग्रेस र एमालेले पाउने समानुपातिक मतको हाराहारीमा छ। जनताले पुराना तीन दलप्रति देखाएको वितृष्णा र रविको पक्षमा देखिएको यो सहानुभूतिले आगामी निर्वाचनमा रास्वपालाई पहिलो दल बनाउने आधार तय गरेको विष्टको दाबी छ।
‘काम गर्ने मान्छेलाई राज्यले दुःख दियो, यही भावना नै रास्वपाको शक्ति बनेको छ,’उनले भने।
सुदूरपश्चिमका धेरै मान्छेहरु भारतमा छन्। रास्वपमा पार्टी भारतमा बसनेहरु पनि जोडिएका छन्। भारतबाट जोडिएका मध्ये भारतको हैदराबाद बस्ने विनोद विष्ट। बैतडी घर भएका विष्टले कोरोना कालमा मृत्युको मुखबाट फर्किएपछि समाजसेवा गर्ने संकल्प लिएका थिए।
उनले बैतडीको शिवनाथ गाउँपालिकामा आफ्नै पहलमा एम्बुलेन्स सञ्चालन गरेर सेवाको सुरुवात गरेका थिए। पछि उनी रास्वपाको प्रवास संगठनमा जोडिए र भारतमा रहेका नेपालीहरूलाई संगठित गर्न थाले। उनले ६०–७० जना नेपाली कामदारहरूलाई एकै पटक पार्टीमा प्रवेश गराएर प्रवासमा रास्वपाको प्रभाव बढाएका थिए। विष्ट हाल समानुपातिक उम्मेदवारका आकांक्षी पनि हुन्।
‘हाम्रो पार्टीमा डाक्टर, इन्जिनियर र पाइलट मात्र होइन, म जस्तो श्रमजीवी पनि छन्,’विष्टले भने।
उनको मुख्य एजेण्डा भारतमा रहेका नेपाली कामदारहरूको समस्या समाधान गर्नु हो। सिमानामा नेपालीहरूले भोग्नुपर्ने अपमान, उचित ज्यालाको अभाव र परिचयपत्रको समस्यालाई उनले सदनमा उठाउने सपना बुनेका छन्। उनले भारत जाने नेपाली कामदारका लागि न्यूनतम ५० हजारदेखि १ लाखसम्मको ज्याला सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन्।

आगामी निर्वाचनका लागि रास्वपाले सुदूरपश्चिमका सबै १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ। पार्टीले उम्मेदवार छनोटका लागि छुट्टै विधि र पद्धतिविकास गरेकाले कसैले आफ्नो नातागोता वा प्रभावशाली व्यक्तिलाई टिकट दिलाउन नसक्ने उनले बताए। प्राइमरी इलेक्सन मार्फत उम्मेदवार छानिने प्रक्रियाले इमानदार र सक्षम व्यक्तिहरू अगाडि आउने विश्वास गरिएको विष्टले बताए।
पार्टीमा अहिले युवापुस्ता आकर्षण निकै बढेको रास्वपका नेताको दावी छ। पुराना दलहरूले २०औँ वर्षदेखि जरा गाडेर बसेको भए पनि, नेपालको इतिहासमा प्रत्येक १०–२० वर्षमा ठुलो परिवर्तन हुने गरेको उदाहरण दिँदै नआगामी चुनावमा रास्वपाले बहुमत ल्याउनेमा ढुक्क देखिएको रास्वपाका प्रदेश सभापति विष्टले बताए। २०८४ को निर्वाचनलाई उनीहरूले एउटा निर्णायक मोडका रूपमा लिएका छन्।
