विगतमा अभिभावकले जबरजस्ती बालविवाह गरिदिने चलन थियो। अहिले भने सचेतना बढेसँगै अभिभावक त रोकिएका छन्। बालबालिका भने आफैँ भागेर विवाह गर्न थालेका छन्।
लू निभा बाल सरोकार समूह र शिक्षा अधिकार अनुगमन समूह नेपालद्वारा सुदूरपश्चिममा आयोजित एक कार्यक्रममा बालविवाहले शैक्षिक क्षेत्रमा पारेको प्रभावबारे छलफल भयो। उक्त कार्यक्रममा सहभागी सरोकारवालाहरूले बालविवाहको स्वरुप फेरिएको र यसले बालबालिकाको भविष्यमा जोखीम निम्त्याइरहेको चिन्ता व्यक्त गरे।
धनगढी नगरस्तरीय बाल सञ्जालका अध्यक्ष मातृका प्रसाद उपाध्यायका अनुसार बालविवाह हुनुमा गरिबी, देखासिखी, सामाजिक सञ्जालको दुरुपयोग र पुराना संस्कारहरू मुख्य कारण हुन्।
‘बालसञ्जालकै एक किशोरले एक वर्षअघि बालविवाह गरे। उनलाई सम्झाउन र विवाह छुटाउन खोज्दा उल्टै समस्या पैदा भयो। अहिलेको पुस्तामा प्रेमको नाममा सानै उमेरमा भाग्ने प्रवृत्ति डरलाग्दो छ।’, उनले भने
यस्तै उनी विद्यालयमा सँगै पढ्ने साथीहरूले विवाह गरेको देख्दा छक्क पर्छन्। केही दिनअघि महोत्सवमा साथीले अचानक विवाह गरेर आएको देख्दा उनी छक्क परेका हुन्। उनको बुझाईमा कानुनको फितलो कार्यान्वयन र सामाजिक स्वीकृति नै यसको मुख्य जड हो।
‘हाम्रो समाजले बालविवाहलाई बिस्तारै स्वीकार्छ। कार्ड नै छापेर भोज ख्वाइन्छ, अधिकारकर्मी र जनप्रतिनिधिहरूसमेत सहभागी भइदिन्छन्। यसले बालविवाह गर्नेहरूलाई थप प्रोत्साहन मिल्छ,’ उपाध्ययले भने।
लू निभाका अध्यक्ष डा. रुपा मुनाकर्मीका अनुसार संस्थाले गरेको रिसर्च अनुसार अहिले ३३ प्रतिशत महिलाको विवाह १८ वर्ष मुनि हुने गरेको छ। विशेषगरी १३ देखि १९ वर्षको उमेर समूहमा आफैँ भागेर विवाह गर्नेहरूको संख्या उच्च छ।
‘गरिबी, असुरक्षा, र लैंगिक असमानता त छँदैछ, तर अहिलेको मोबाइल संस्कृति, भिडियो, र चलचित्रले बालबालिकामा भ्रम पैदा गरिरहेको छ। खानपानका कारण शारीरिक रूपमा चाँडै परिपक्व देखिने तर मानसिक रूपमा तयार नहुने अवस्थाले पनि उनीहरूलाई विवाहको निर्णय लिन उक्साएको देखिन्छ।’, उनले भनिन्।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख झंकर रावल शिक्षाको अधिकार मौलिक हक भए पनि बालविवाहले यसलाई कुण्ठित गरेको बताउँछन्। १६ देखि २० वर्षको उमेरमा बालविवाहको दर बढी छ।
‘बालविवाहले जन्मदर्तामा समस्या ल्याउँछ, जसले गर्दा बच्चाको पहिचान र राज्यबाट पाउने सुविधामा असर पर्छ। कैलालीको चुरे क्षेत्रमा यो समस्या झन् भयावह छ।’, उनले भने।
यस्तै, धनगढी उपमहानगरपालिका शिक्षा शाखाका घुम्मन बडायक ऐन कानुन मात्र बनाएर समस्या समाधान नहुने तर्क गर्छन्।
‘हामीले समस्याको जड पहिचान गर्नुपर्छ। बालबालिका किन भाग्छन्? उनीहरूलाई विद्यालय र घरमा कस्तो वातावरण दिइएको छ? यसबारे गम्भीर हुन जरुरी छ।’ उनले भने
लू निभाका कार्यकारी निर्देशक तथा शिक्षा अधिकार अनुगमन समूहका राष्ट्रिय संयोजक नरेन्द्र डंगोलका अनुसार सुदूरपश्चिमका डडेल्धुरा लगायतका विभिन्न जिल्लामा आफैँ भाग्नेट्रेन्ड बढेको छ। बाआमाले रोक्न खोज्दा पनि लुकिछिपी भाग्ने र पछि समाजले स्विकार्ने अवस्थाले शिक्षाको स्तर खस्कँदो छ।
विवाहपछि बालबालिकाहरू विद्यालय छोड्न बाध्य हुन्छन्। सानै उमेरमा आमा बन्दा शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर समस्या आउँछ। पिसविनका जुद्ध रावल भन्छन्, बालविवाह गरेका जोडीहरूलाई कानुनी दायरामा ल्याउन खोज्दा अर्को ठूलो जोखिम हुन्छ।
‘उनीहरूलाई जबरजस्ती छुटाउँदा आत्महत्या गर्ने वा घरबाट पलायन हुने डर हुन्छ। त्यसैले यो विषय अत्यन्तै संवेदनशील छ,’उनले भने।
नेपालको कानुनले २० वर्ष नपुगी गरिने विवाहलाई अपराध मानेको छ। गरिबी, मोबाइलको दुरुपयोग, र उत्साहित उमेरका कारण बालबालिकाहरू वालविवाहको शिकार बनीरहेका हुन्।
दक्षिण एसिया र अफ्रिकामा गरिबीका कारण ५० प्रतिशत बालविवाह हुने गरेको तथ्यांकले देखाए पनि नेपालको सन्दर्भमा सचेतनाको अभाव र आधुनिक प्रविधिको नकारात्मक प्रभाव मुख्य चुनौती बनेको छ।
बालविवाह रोक्न कानुनको डण्डा मात्र पर्याप्त छैन; बालबालिकालाई गुणस्तरीय शिक्षा, मानसिक परामर्श र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनु आजको आवश्यकता भएको विद्यार्थी संगीता भट्टले बताइन्
‘जबसम्म बालबालिका आफैँ आफ्नो भविष्यप्रति सचेत हुँदैनन्, तबसम्म यो भागेर विवाह गर्ने क्रम रोक्न कठिन देखिन्छ,’ उनले भनिन्।
बालबालिका आफु खुसी किन गर्छन् भागेर बिहे?

