सुदूरपश्चिमको पहिचान र लुकेका पर्यटकीय गन्तव्यलाई विश्वमाझ पु¥याउने संकल्पका साथ सुरु भएको ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानको पहिलो यात्रा दार्चुलाको अपि बेस क्याम्पमा पुगेर सम्पन्न भएको छ। यो अभियान धनगढी उपमहानगरपालिकाले सुरु गरेको हो।
धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पर्यटन, होटल व्यवसायीसहितको करिब ३० जनाको टोली ८ दिनको पैदल यात्रा पूरा गरी वैशाख २१ गते सकुशल धनगढी फर्किएको हो।

यात्राको सुरुवात वैशाख १४ गते बिहान पौने ७ बजे धनगढीबाट भएको थियो। धनगढी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीका अनुसार टोलीले योजनाबद्ध रूपमा आफ्नो यात्रा अघि बढाएको थियो। धनगढीबाट पहाड उक्लँदै गर्दा टोलीले भासुको भीरको रोमाञ्चक दृश्य, चुरेको बुडरमा पाइने मौसमी फलफूल र काँफलको स्वाद चाख्दै अगाडि बढ्यो। भीमदत्त पन्त राजमार्गको यात्राका क्रममा डडेल्धुराको साहुखर्कको बाजेको खिर पसलको खिर, अनारखोलीमा पाइने प्रसिद्ध दुधको मिठाईको स्वाद टोलीले चाख्यो।
डडेल्धुराको उग्रतारा मन्दिरको दर्शन गर्दा त्यहाँको दृश्य नगरकोट जस्तै सुन्दर देखिएको टोलीका सदस्यहरूले अनुभव गरे। बाटोमा बैतडीको खोडेपे, पाटन बजार र सतबाँझको रमाइलो जनजीवन नियाल्दै टोली पहिलो दिनको बास बस्न दार्चुलाको गोकुलेश्वर पुग्यो। चमेलिया नदीले बैतडी र दार्चुलालाई छुट्याएको गोकुलेश्वर बजारमा सम्भावना धेरै देखिए पनि नदी किनारको फोहोरले भने टोलीलाई केही सोच्न बाध्य बनायो।

गोकुलेश्वरबाट माथि लागेपछि पहाड चिरेर बनाइएका साँघुरा सडक र जोखिमपूर्ण भीरका दृश्यहरूले टोलीलाई रोमाञ्चित बनायो। धनगढी उपमहानगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष भागीराम चौधरीका अनुसार लटीनाथ बजारमा बलेरो जिपको लस्कर देख्दा अचम्म लाग्थ्यो। मार्मा गाउँपालिका पुग्दा स्थानीयले नगर प्रमुख गोपाल हमाल र टोलीलाई फूलमालाले भव्य स्वागत गरे। बाटोमा चमेलिया हाइड्रोपावरको ड्याम र बिटुलेको पुरानो तथा नयाँ झोलुङ्गे पुल पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने देखियो। यात्राका क्रममा पानी र हावाहुरीको सामना गर्दै टोली नौपाटा सामुदायिक होमस्टे पुग्दा त्यहाँको स्वागतले सबैको थकान बिर्साइदियो। स्थानीय महिलाहरूले मौलिक बाजागाजा र गीतसहित माला लगाएर स्वागत गरे। स्थानीयले कोसेलीका रूपमा मकैको खोस्टाबाट बनेको ब्याग, टोपी, डाले चुक, सतुवा र कटुकी जस्ता वस्तु उपहार दिए। साँझको समयमा पानीले केही समस्या पारे पनि होमस्टेमा खाएको दही, घिउ, माडा र कोदो–मकैको रोटीले सबैलाई शुद्ध स्थानीय स्वादको मज्जा दिलायो। मेयर हमालले त्यहाँको मौलिक संस्कार र सरल जीवनशैलीको प्रशंसा गर्दै त्यहाँ कुनै विषादी नभएको शुद्ध खाना पाएकोमा खुसी व्यक्त गरे।

यात्रा जति माथि पुग्थ्यो, उति कठिन र सुन्दर हुँदै गयो। घुसाको उकालो हिँड्दा पहाड नचढेका धेरै सदस्यलाई गाह्रो भयो, तर सिति गाउँको भव्य स्वागत र त्यहाँको मौलिक संस्कृतिले सबैमा ऊर्जा थप्यो। चमेलिया नदीको किनारै किनार हिँड्दा जंगलको बाटोमा बनाइएका सिँढी र सरसफाइका लागि ठाउँ–ठाउँमा बनाइएका संरचनाले टोलीलाई प्रभावित पा¥यो। भल्लेखोला पुग्दा त्यहाँका ‘नमस्ते’ आकारका नयाँ डिजाइनका घरहरूले पर्यटकीय आकर्षण थपेका थिए। धौली ओडारबाट बिहानै हिमाल खुल्दाको दृश्य वर्णन गरिसाध्य थिएन। गोपाल हमालको सचिवालयका प्रमुख अधिकृत सुरेन्द्र भट्टले हिमालको दृश्य यति सुन्दर थियो कि आफूले त्यहीँ गजल नै वाचन गरेको बताए।

अपि बेस क्याम्प पुग्दा टोलीका सदस्यहरूले धर्तीको स्वर्ग पुगेको आभास गरे। उपप्रमुख कन्दकला कुमारी रानाका लागि यो यात्रा एउटा ठुलो संकल्प थियो। ढाडको समस्या भए पनि सुदूरपश्चिमकी चेलीका रूपमा हिमाल टेक्ने इच्छाशक्तिले उनलाई बेस क्याम्पसम्म पु¥यायो। हिउँले ढाकेको अपिको चुचुरो देख्दा उनका आँखा खुसीले रसाए। उनले त्यहाँ चौलानी नदीको उद्गम स्थल र थरिथरिका लालीगुराँस देखिन्। टोलीमा सहभागी होटल व्यवसायी उमेशविक्रम शाहले यो ठाउँ विदेशको कुनै पनि पर्यटकीय गन्तव्य भन्दा कम नभएको र यहाँ आएपछि मान्छेले आफ्नो अस्तित्व महसुस गर्ने अनुभव सुनाए। उनले कालीढुङ्गा तालसम्म पुगेर त्यहाँको शान्ति र आनन्दको अनुभव गरे।

यो ८ दिने यात्रामा टोलीले हिमाल मात्र देखेन, त्यहाँको कठिन यथार्थ पनि भोग्यो। बाटोघाटोको अभावमा मानिसहरू अझै पनि खच्चड र भरियाको भरमा बाँचेका छन्। सहरको कोलाहल भन्दा टाढा रहेका ती मानिसहरू आफ्नो अभावमा पनि खुसी र सन्तुष्ट देखिए। यार्सागुम्बा टिप्न जानेहरूको ताँती र चिसोमा उनीहरूले गरिरहेको संघर्षले त्यहाँको जीवन कति चुनौतीपूर्ण छ भन्ने देखायो। टोलीका सदस्यहरूले यो यात्राबाट जीवन जिउनुको नयाँ अर्थ सिकेका छन्।
वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले अपि सम्भावनाको खानी भए पनि बाटोघाटो र स्वास्थ्य उपचार जस्ता पूर्वाधारमा धेरै काम गर्न बाँकी रहेको बताए। कुनै समय ‘सुन्दर सुदूरपश्चिम’ को नारा दिएर यस क्षेत्रलाई नयाँ नाम दिएका मेयर गोपाल हमालले अहिले पर्यटन प्रवद्र्धनलाई एक्सनमा उतारेका छन्।

उपमहानगरपालिकाले सुदूरपश्चिमका प्रमुख पर्यटकीय क्षेत्रहरूको प्रचारका लागि विशेष बजेट नै छुट्याएर काम गरिरहेको छ। अपिपछि अबको केही समयमै टोलीले बझाङको साइपाल हिमालको यात्रा तय गर्ने योजना बनाएको छ। यो अभियानले सुदूरपश्चिमका नौवटै जिल्लाका ओझेलमा परेका भर्जिन गन्तव्यहरूलाई विश्वमाझ चिनाउने लक्ष्य लिएको छ। यसरी पर्यटकिय स्थलको प्रचारप्रसारका लागि गरिएको यो अभियान सुदूरपश्चिमका ८८ वटा वटा स्थानीय तहमा धनगढीको पहिलो र नमूना अभियान हो। यो अयिभानले आफुहरुको गाउँमा पर्यटक गतविधि बढ्ने अपि हिमाल गाउँपालिकाको सिति गाउँमा स्थानीय कविन्द्र धामीले बताए।







